
काठमाडौं, मंसिर २७ । सरकारले उखुको न्यूनतम समर्थन मूल्य ८ रुपैयाँले बढाउने निर्णय गरेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले न्यूनतम समर्थन मूल्य बढाएर प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा बनाउने निर्णय गरेको हो ।
नयाँ मूल्यमा लागत ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा रहेको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताउनुभयो ।
नेपाल उखु उत्पादक महासंघले चिनीको मूल्य एक किलोमा ३२ रुपैयाँले बढ्दा उखुको मूल्य भने निकै कम मात्रामा बढ्नु दुःखद भएको बताएको छ ।
यता, किसानहरुले चिनी उद्योगीबाट लिनुपर्ने करिब ९० करोड उठाउन निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।
पहिलो चरणमा भोलीदेखि माइतीघरमा शान्तिपूर्ण आन्दोलन हुने किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताउनुभयो ।
नगदे बालीका रूपमा परिचित उखुखेती गर्ने किसानलाई बर्सेनि चिनी मिल सञ्चालकले भुक्तानीका लागि झुलाउने गरेका छन् ।
देशभर सञ्चालित १३ चिनी मिलमध्ये ६ वटाले भुक्तानी नदिएर दुःख दिएको किसानहरूको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्