
काठमाडों, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा हुने भनिएको बैठक सुरक्षा कारण देखाउँदै बालुवाटारमा सारिएको हो ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा बैठक बालुवाटारमा सारिएको अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समूहले जनाएको छ ।
सुरक्षाको कारणले बैठक तोकिएकै समयमा धुम्बाराही नभई बालुवाटारमा गर्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।
अध्यक्ष पुष्पकमल दाहालसँग विवाद चुलिएका बेला मंसिर २१ गते दुई पृष्ठ लामो पत्र पठाएर ओली बैठकमा अनुपस्थित भएको थियो । त्यो दिन बैठक केहीबेर मात्रै बसेको थियो ।
एक हप्ताको बिचमा विवाद समाधानको प्रयासस्वरुप अनौपचारिक छलफल भए पनि त्यसले ठोस प्रगति भने गर्न सकेको छैन ।
यसअघि मंसिर २१ गते नेकपा पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले ‘पार्टीको आन्तरिक समस्या’लाई एउटै एजेण्डाका रुपमा तय गरेपछि आज दोस्रो बैठक बस्न लागेको हो ।
सहमति जुटाउन आठ दिन समय दिइए पनि नेताहरुबीच पर्याप्त संवाद भएको छैन । स्थायी कमिटीको बैठक लम्बिएका कारण पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गतेका लागि सारिएको छ ।
प्रतिक्रिया दिनुहोस्