
काठमाडौं, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको टकरावकाबीच शुरु भएको स्थायी कमिटी बैठक साता दिनपछि आज बस्दैछ ।
मंसिर २१ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अनुपस्थितिमै शुरु भएको बैठक साता लामो स्थगनपछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
तर यो एक सातामा दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच मनको बादल हटेको छैन ।
धमिलिएको सम्बन्ध संग्ल्याउन ओली पक्षमा विभिन्न नेताले दाहाललाई तारन्तार भेट्नु भएको छ । तैपनि दाहालको मन फुरेको छैन ।
आइतबार स्थायी कमिटी बैठक बस्नुअघि पनि प्रधानमन्त्री ओलीले दाहाललाई भेट्न स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई खुमलटार पठाउनुभयो ।
संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङ आइतबार बिहानै खुमलटार पुगेर अर्का अध्यक्ष ओली पार्टी एकताप्रति निकै चिन्तित रहनुभएको भन्दै एक साथ आउन आग्रह गर्नुभयो ।
पार्टी एकता जोगाउन अध्यक्ष ओली जस्तै दाहाल पनि सकारात्मक रहेको पाएको नेम्बाङको भनाइ थियो । दाहालले एकता जोगाउन चिन्तित छु भनेको नेम्बाङको भनाइ छ ।
नेम्वाङले पार्टी अध्यक्ष ओली एकताप्रति कतिधेरै चिन्तित हुनुहुन्छ भन्ने दाहाललाई बताएको पनि उल्लेख गर्नुभयो ।
आइतबार दिउँसो एक बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने स्थायी कमिटी बैठक अगाडी दुई नेताबीच कुनै समझदारी बनाउन सकिन्छ कि भन्नेमा दोस्रो तहका नेताहरु लागिरहनु भएको हो ।
यसअघि शनिबार मात्र पनि प्रधानमन्त्री ओलीनिकट नेता शंकर पोखरेलले दाहाललाई भेटेर दुई अध्यक्ष मिल्नुपर्ने बताउनुभएको थियो । यसअघि पनि नेताहरु इश्वर पोखरेल, विष्णु पौडेललगायतले भेटेर दाहाललाई मनाउने प्रयास गर्नुभएको थियो ।
प्रधानमन्त्री ओली स्वयंले पनि पटक पटक दाहालसँग भेटेर आफूहरु दुई जना मिल्नु नै प्राकृतिक हुने र एकता प्रक्रिया टुंगोमा पुग्ने बताइरहनुभएको छ । ओलीको जोड मुलत अर्का नेता माधव नेपाल र दाहालबीचको लगनगाँठो टुटोस् भन्नेमा देखिएको छ ।
ओलीले दाहालसँगको भेटमा नेपालविरुद्ध र नेपालसँगको भेटमा दाहालको विरोधमो कुरा गर्ने गरेको नेताहरुले बताउने गरेका छन् ।
नेकपामा प्रधानमन्त्री ओली एकातिर हुँदा बहुमत सचिवालय, स्थायी कमिटी सदस्यहरु दाहाल–नेपालको पक्षमा देखिएका छन् । दाहाल–नेपालले ओलीमाथि अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद त्याग्न दबाब दिइरहनु भएको छ ।
ओली भने दुबै पद नत्याग्ने बरु परेको व्यहोर्ने बताउँदै आउनुभएको छ । जसका कारण विभाजनको रेखा तल्लो तहसम्म पुगेको छ भने दुबै पक्षले आ–आफ्ना गूटगत भेला पनि देशैभर गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्