
काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।
अर्को बैठक पुष १ गते बस्ने भनिएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पनि सहभागी हुनु भएको थियो ।
उहाँकै आग्रहमा प्रधानमन्त्री निवास बालुवाटार बसेको बैठकको कार्यसूचीमा शोक प्रस्ताव मात्रै राखिएको थियो ।
मंसिर २१ मा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको बैठक बहिष्कार गर्नुभएको ओली आज भने बैठकमा पार्टीभित्रको विवादमाथि छलफल नहुने भएपछि सहभागी हुनुभएको हो ।
प्रधानमन्त्री ओलीले पार्टीमा आफूविरुद्ध प्रस्तावका नाममा अभियोगपत्र वितरण गरिएको जिकिर गर्दै त्यसमा छलफल हुन नसक्ने भएकाले स्थायी कमिटीले विवेकपूर्ण निकास दिने सन्देश सहितको पत्र स्थायी कमिटीको बैठकलाई पठाउनु भएको थियो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा भएको उक्त बैठकले ‘पार्टीको आन्तरिक समस्या’ एउटै एजेण्डाका रुपमा तय गरेको थियो । दोस्रो बैठक एक साताको अन्तरालमा बसेको हो ।
सहमति जुटाउन आठ दिनका लागि समय दिइए पनि नेताहरुबीच पर्याप्त संवाद हुन सकेको छैन । स्थायी कमिटीको बैठक लम्बिएका कारण पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गतेका लागि सारिएको छ ।
प्रतिक्रिया दिनुहोस्