
काठमाडौं, मंसिर २८ । सभामुख अग्नि सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको बताउनु भएको छ ।
१४ औं संसद सेवा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उहांले संवैधानिक बाध्यता अनुसार पुष १८ गते भित्र संसद अधिवेशन आव्हान गर्नु पर्ने भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताउनुभयो ।
सभामुख सापकोटाले अबको अधिवेशन नयाँ ढंगले क्रमभंग गरेर चलाउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले परम्परागत रुपमा संसद चलाउन सम्भवन नभएकोले केही रुपान्तरण गर्नुपर्ने संकेत गर्नुभयो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोनाका कारण बन्द रहेको संसद र समितिका बैठकहरु सधैभरी रोकेर बस्न नहुने बताउनुभयो ।
उहाँले कोरोनाकै कारण संसद बैठक बिचैमा रोक्नुपर्ने स्थिति आउने भएकाले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले संघीय संसद सेवामा रहेका कर्मचारीहरुको कानून निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
संघीय संसद सचिवालयलले विभिन्न कार्यक्रम आयोजना गरी ‘१४ औं संघीय संसद सेवा दिवस–२०७७’ मनाएको हो ।
वि.स. २०५८ मंसिर २८ गते संसद सेवालाई निजामति सेवाबाट अलग गरी संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर वि.स. २०६३ मंसिर २८ गतेदेखि संसद सेवा दिवस मनाईदै आएको छ ।
वि.स. २०५८ देखि २०६३ को बिचमा संसद नै नरहेको कारण संसद सेवा दिवस मनाइएको थिएन ।
प्रतिक्रिया दिनुहोस्