
पोखरा, मंसिर २८ । फेवातालको मापदण्ड मिचेर रातारात बनाइएका अवैध संरचना पोखरा महानगरपालिकाले भत्काएको छ ।
फेवातालको पश्चिम उत्तरतर्फ पर्ने खपौंदी क्षेत्रमा मापदण्ड मिचेर स्थानीय खगराज पहारीको जग्गामा व्यवसायी दीपेश श्रेष्ठले निर्माण गरेको अवैध संरचना महानगरले आइतबार बिहान डोजर लगाएर भत्काएको हो ।
फेवातालमा अवैध संरचना बनाउने र भत्काउने होडबाजी जस्तै चलेको छ ।
त्यहाँ व्यवसायीले संरचना बनाउने र महानगरले भत्काउने होडबाजी चलेको हो ।
करीब १ महिना अघिमात्र फेवाताल मापदण्ड मिचेर बनाइएको संरचना महानगरले डोजर लगाएर सोही ठाउँको संरचना भत्काएको थियो ।
तर श्रेष्ठले हिजो साँझदेखि रातारात पुनः संरचना निर्माण गर्न थालेपछि आइतबार महानगरले पुनः डोजर लगाएर भत्काएको पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले जानकारी दिनुभयो ।
पहारीको नाममा लालपूर्जा रहेको सो ठाउँमा यसअघी प्याराग्लाईडिङ ल्याण्डिङ स्थल थियो ।
प्याराग्लाईडिङ ल्याण्डिङ गरेबापत विभिन्न प्याराग्लाईडिङ कम्पनीबाट उनले भाडा लिने गरेका थिए ।
तर रेष्टुरेण्ट व्यवसायीले बढी भाडा दिने भनेपछि उनले प्याराग्लाईडिङ ल्याण्डिङ स्थलमा रेष्टुरेण्ट बनाउन दिएका थिए ।
तर फेवाताल भित्रैबाट संरचना बनाएपछि यसको विरोध भएको छ ।
फेवातालको त्यस क्षेत्रमा पछिल्लो क्रममा मापदण्ड मिचेर अवैध संरचना बनाउने होडबाजी नै चल्ने गरेको छ ।
पहारीको भन्दा ३०–४० मिटर पश्चिमतर्फ पछिल्लो १ महिनामा २ वटा संरचना बनिसकेको छ ।
त्यसैगरि पछिल्लो ६ महिनामा १० वटा अवैध संरचना बनेका छन् ।
वडाध्यक्ष थापाले अब फेवातालमा कुनैपनि अवैध संरचना बन्न नदिने दृढता व्यक्त गर्नुभयो ।
अवैध संरचना बनेको टुलुटुलु हेरेर बस्न नसकिने वडाअध्यक्ष थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्