
काठमाडौं, मंसिर २९ । सरकारले चिनी उद्योगीलाई वार्ताका लागि बोलाएको छ । चिनी मिलका मालिकले उखुको पैसा नदिएपछि उखु किसान अहिले आन्दोलनमा छन् ।
सर्लाहीका उखु किसानले काठमाडौंको माइतीघर मण्डलमा आन्दोलन थालेको दोस्रो दिन सरकारले किसानको बक्यौंता भुक्तानी गर्नेबारे छलफल गर्न चिनी उद्योगीहरुलाई बोलाएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीहरुलाई वार्ताका लागि सिंहदरबारमा बोलाएको हो ।
मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले किसानको ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेका ६ वटा चिनी मिलका सञ्चालक तथा प्रतिनिधिलाई वार्तामा बोलाइएको जानकारी दिएका छन् ।
उता, आन्दोलनरत उखु किसानले भने वार्ताका लागि उद्योग मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गर्दै आफूहरुको बक्यौता रकम लिएर माइतीघरमै आउन मन्त्रीलाई जवाफ पठाएका छन् ।
किसानले उधारोमा वार्ता नगर्ने जवाफ दिँदै बक्यौता बोकेर मन्त्री नै माइतीघर मण्डल आउनुपर्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्