१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुलुकलाई कम्युनिष्टकरण गर्न खोजियोः रामचन्द्र पौडेल


0
Shares

congress ramchandra poudel

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यलाई कम्युनिष्टकरण गर्ने दुष्प्रयास भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

पार्टीले आयोजना गरेको देशव्यापी विरोध कार्यक्रमका क्रममा काठमाडौंको सभालाई सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयो, ‘पञ्चायतमा रूख रोप्दा टाउको फुटालिन्थ्यो, कम्युनिस्ट शासनमा पुल बनाउँदा करंग भाँचियो ।’

सत्ताको घोर दुरूपयोग भएको र त्यो स्वीकार्य नहुने भन्दै पौडेलले भन्नुभयो, ‘कम्युनिष्टलाई कुनै मुद्दा कानुन लाग्दैन, राज्यको ढुकुटी मासेर, तहगत सरकारको अधिकार खोसेर, गाइजात्रा देखाएर सत्ताको दुरूपयोग गरिएको छ ।’

राजावादीहरुको प्रदर्शनप्रति इग्गित गर्दै पौडेलले सडकमा जथाभावी उल्टा नारा लाग्नु विचित्रको छ, ७० वर्षको अथक प्रयासबाट कायम गरेको व्यवस्थामा धावा बोलिन थालेको बताउनुभयो ।

समावेशी लोकतान्त्रिक व्यवस्थामा कम्युनिष्ट सरकारले प्रहार गरेको भन्दै उहाँले भन्नुभयो, ‘समाजवादीको स्वर्ग भविष्यमा हुन्छ, प्रतिवादीको भविष्य अतितमा हुन्छ ।’

संविधानलाई, समावेशितालाई संकटमा पार्न खोजिएको भन्दै उहाँले स्थानीय निकायहरूको अधिकार प्रधानमन्त्री ओलीले खोस्दा प्रदेशहरू अदालत धाउनु परेको उहाँले उल्लेख गर्नुभयो ।

सरकारलाई नालायक र भ्रष्टको संज्ञा दिँदै नेता पौडेलले अदालतहरु कार्यकर्ता भर्ती केन्द्र बनाइएको आरोप पनि लगाउनुभयो ।

तनहुँमा आफूमाथि गरिएको घटना उल्लेख गर्दै नेता पौडेलले भन्नुभयो, ‘देशका अरु ठाउँमा के भएको होला ? लोकतन्त्र संकटमा छ । सरकारले सारा समाज नियन्त्रण गर्ने प्रयत्न गर्दैछ ।’