१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद् बैठकमा नजाने


0
Shares

congress sherbahadur deuba will not attend the constitutional council meeting

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा मंगलबार साँझ प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषद बैठकमा नजाने हुनुभएको छ ।

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति विमती जनाउँदै कांग्रेस सभापति देउवा प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा नजाने हुनुभएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसद बैठकको मुखमा अध्यादेश ल्याउनु नै आपत्तिजनक भन्दै बैठकमा सभापति देउवा नजाने प्रष्ट गर्नुभयो ।

शर्माले भन्नुभयो, ‘बिहान बैठक बस्ने र दिउँसो अध्यादेश जारी गर्नु आपत्तिजनक हो । पार्टीमा घनिभूत छलफल नगरी उहाँ जानुहुन्न । आजको बैठकमा उहाँ जानुहुन्न ।’

मंगलबार विहान बोलाएको परिषद बैठकमा सभामुख अग्नि सापकोटा नगएपछि गणपुरक संख्या नपुगेका कारण बैठक बस्न सकेको थिएन । त्यहीं झोंकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमासमेत छलफल नगराई राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी गराउनुभएको थियो ।

बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि हतार हतारमा अध्यादेश जारी गरिदिनुभएको थियो ।

‘अध्यादेशमा के छ, अध्यादेश ल्याउनुका पछाडिको नियतबारे पार्टीमा परामर्श नभई सभापतिज्यू संवैधानिक परिषद् बैठकमा जानुहुन्न ।,’ शर्माले प्रष्ट गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो ।

कांग्रेसका अर्का नेता रमेश लेखकले पनि कांग्रेस बैठकमा नजाने भन्दै यसरी अध्यादेश यसरी ल्याउनु नै अलोकतान्त्रिक क्रियाकलाप भएको टिप्पणी गर्नुभयो ।

कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले पनि अध्यादेश ल्याएकामा आपत्ति जनाउनुभएको छ ।