१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा स्थायी कमिटी बैठक शुरु, प्रधानमन्त्री पनि सहभागि, ओलीले अध्यादेश फिर्ता लिने


0
Shares

NCP standing committee meeting

काठमाडौं, पुष १ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरू भएको छ । निकै लामो गलफत्ती पछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पनि बैठकमा सहभागि हुनुभएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टी अध्यक्ष ओलीलाई सहभागि गराउन तीन घण्टा गलफत्ती गर्नुपरेको हो ।

स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच दुई पटक अलग्गै बैठक बसेको थियो । उक्त बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागि हुनभएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली संवैधानिक परिषदसम्बन्धि अध्यादेश फिर्ता लिन सहमत हुनुभएको छ । यसवापत दाहाल पक्षले भने संसदको विशेष अधिवेशन बोलाउन माग नगर्ने भएको छ ।

मंगलबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धि अध्यादेशमा आफूनुकूलको व्यवस्था राखेर राष्ट्रपतिबाट जारी गराउनु भएको थियो । जसको पार्टीभित्र र बाहिरबाट तीब्र आलोचना भइरहेको छ ।

सर्वत्रको तीब्र आलोचना खेप्न नसकेपछि ओली अध्यादेश फिर्ता लिने अवस्थामा पुग्नुभएको दावी गरिएको छ ।

मंगलबार राष्ट्रपति भण्डारीले द्रूत गतिमा संविधानको धारा ११४(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको थियो ।

उक्त अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ भने परिषद बैठक बसेर गरेका सिफारिश पनि संसदको संसदीय सुनुवाई समितिबाट पारित नहुने देखेपछि ओली पछि हट्नुभएको जनाइएको छ ।