८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


लेकसाइडमा पुस १५ देखि १७ गतेसम्म ‘२२ औं पोखरा सडक महोत्सव’


0
Shares

पोखरा, पुस १ । कोरोना महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्र चलायनमान बनाउन पोखरामा विगतमा झैं पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने भएको छ ।

आयोजक रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षका अवसरमा पुस १५ देखि १७ गतेसम्म लेकसाइडमा २२ औं पोखरा सडक महोत्सव आयोजना गर्ने भएको हो ।

पोखरामा बुधबार गरिएको पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले कोभिडका कारण बन्द रहेका होटल, रेष्टुरेन्ट लगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन स्वास्थ्य मापदण्ड अपनाउँदै ३ दिनका लागि महोत्सव तयारी गरिएको जानकारी दिनुभयो ।

विगतमा ५ दिनसम्म हुने महोत्सव यसपालि छोट्याएर ३ दिनमात्र गर्न लागिएको हो ।

विगत ९ महिनादेखि पर्यटनसम्बन्धी कुनै पनि गतिविधि नभएको, कतिपय व्यवसायीहरु विस्थापित समेत भैरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी ‘पोखरा खुला छ’ भन्ने सन्देश दिन स्थानीय प्रशासनको स्वीकृतिमा महोत्सव गर्न लागिएको महोत्सव संयोजक वसन्त गौतमले जानकारी दिनुभयो ।

अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले गरिंदै आएको महोत्सवमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषासहित सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।

यसैबीच, पोखराका होटलहरुले कोठामा ५० प्रतिशत छुट दिने योजना महोत्सव अवधिसम्म पनि कायम राख्ने जनाएका छन् ।