२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नौ महिनापछि काठमाडौं-दिल्ली उडान सुरु


0
Shares

काठमाडौं, पुस २ । कोरोना महामारीका कारण बन्द रहेको काठमाडौं दिल्ली उडान नौ महिना पछि बिहीबारदेखि पुनः शुरु भएको छ ।

नेपाल वायुसेवा निगमको न्यारो बढी विमान काठमाडौंबाट १४१ यात्रु लिएर दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

नौ महिनापछि पहिलो उडानको अकुपेन्सी उत्साहवद्र्धक रहेको र दिल्ली गन्तव्यमा आगामी दिनमा विगतमाझैँ प्रत्येक दिन दुई उडानको अपेक्षा गरिएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताउनुभयो ।

काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् ।

दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनः शुरु गरिएको हो ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल तथा भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय नियमित अन्तरदेशीय उडानमा प्रतिबन्ध लगाएकामा हाल दुवै मुलुकले अन्तर्राष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध ‘एयर ट्रान्सपोर्ट बबल’ मार्फत खुकुलो बनाएकाले निगमले काठमाडौं–दिल्ली रुटमा हाललाई दैनिक नियमित एक उडान गर्न लागिएको जनाएको छ ।

नेपाल वायुसेवा निगम र भारतको एयर इण्डियाले दैनिक उडान गर्ने छन् ।

नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण गत चैत १० गतेदेखि काठमाडौं–दिल्ली उडान स्थगन भएको थियो ।

गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो ।

यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसीआर रिपोर्ट पेश गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ ।