१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एक साताभित्र उखु किसानको भुक्तानी दिलाउन संसदीय समितिको निर्देशन, आलटाल गरेको सांसदको आरोप


0
Shares

ukhu kisan protest parliamentarian committee order


काठमाडौं, पुष २ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात दिनभित्र उखु किसानको भुक्तानी दिलाउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समिति बैठकले चिनी उद्योगबाट उखु किसानले पाउन बाँकी रकम एक हप्ताभित्र दिलाउन सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति विमलप्रसाद श्रीवास्तवलेसातदिन भित्र उखु किसानलाई भुक्तानीको व्यवस्था मिलाई समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

यसैगरी, समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई देशभरका श्रमिकले पारिश्रमिक पाए नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिनभित्र समितिमा प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएको छ ।

बैठकमा सांसदहरुले किसानको उखुको मूल्य भुक्तानी नदिने चिनी उद्योगीलाई तत्काल पक्रेर कावाृही गर्न माग गरेका थिए । उद्योगीबाट किसानको रकमको साँवा ब्याज असुल्न उनीहरुले सरकारलाई भनेका हुन् ।

सांसद प्रकाश रसाइलीले उद्योगीले चिनी बिक्री गरेर बैंकमा पैसा थुपार्ने र अन्यत्रै लगानी गर्ने उद्योगीसँग ब्याज पनि असुल्नु पर्ने बताउनुभयो ।

उद्योगीको जाय जेथा राज्यले लिएर किसानलाई बाँड्नुपर्ने सांसद भीमसेनदास प्रधानको भनाइ थियो ।

एक हप्ताभित्रै किसानको समस्या समाधान गर्न सांसद अमृता अग्रहरीको आग्रह थियो ।

सांसद बिन्दा पाण्डेले भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न प्रहरीले आलटाल गरेको आरोप लगाउनुभयो ।