
काठमाडौं, पुष २ । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले बिहीबार साँझका लागि बोलाउनुभएको परिषदको बैठकमा परिषदका एक सदस्य सभामुख अग्नि सापकोटाले निम्तो नै पाउनु भएको छैन ।
परिषद बैठकबारे अपराह्न चार बजेसम्म पनि कुने जानकारी नआएको सभामुख सापकोटाको प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ ।
उता, बैठकका लागि निम्तो पाउनुभएका प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने अध्यादेशमार्फत् संशोधित व्यवस्था अन्तर्गत बस्ने परिषद बैठकमा नजाने प्रष्ट गरिसक्नु भएको छ ।
कांग्रेसले अध्यादेश फिर्ता लिन र संसदकै बैठक बोलाउन माग गरिसकेको छ ।
पार्टीभित्रै तीब्र आलोचना भएपछि प्रधानमन्त्री ओलीले बुधबार मात्र नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग संवैधानिक परिषद् सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता लिने सहमति गर्नुभएको थियो ।
बुधबार नेकपाका ८३ जना सांसदले संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गर्न पुगेपछि ओली र दाहालबीच अध्यादेश फिर्ता लिने सहमति बनेको थियो ।
तर अध्यादेश फिर्ता लिनुभन्दा पनि उहाँले बिहीबार साँझ ५ः ३० बजेका लागि परिषद् बैठक राख्नुभएको हो । यसले नेकपाभित्र पनि खैलाबैला मच्चिएको छ ।
प्रतिक्रिया दिनुहोस्