१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाले सिकायो पाल्पाका युवालाई सामुहिक खेती गर्न


13
Shares

भरत शर्मा (इमेज)
पाल्पा, पुस ३ । वैदेशिक रोजगारीमा विदेश गएका पाल्पा रामपुरका युवाहरु कोरोना (कोभिड–१९) का कारण घर फर्किएपछि स्वदेशमै केही गर्ने सोंचका साथ अहिले सामूहिक कृषि खेतीतर्फ आकर्षित भएका छन् ।

उनीहरुले स्थानीय सरकारको सहयोगमा आलु खेतीको सुरुवात गरेका हुन् ।

रामपुर नगरपालिकाको सहयोगमा २० जना युवाहरुको संयुक्त लगानी र प्रयासमा झण्डै १ सय रोपनी क्षेत्रफलमा आलु खेतीको सुरुवात गरेका हुन् ।

रामपुर नगरलाई आलुमा आत्मनिर्भर बनाउन र स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न युवाहरु लागि परेका छन् ।

नगर सरकारको ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत वडा नंं ६ लाई आलुको पकेट क्षेत्र बनाउने उद्देश्यले करीब १२ सय रोपनी क्षेत्रफलमा उनीहरुले व्यवसायिक रुपमा आलु लगाएका छन् ।

आधुनिक प्रविधिको प्रयोगबाट कम समय र कम परिश्रम लाग्ने भएकाले युवाहरु आलु खेतीतर्फ आकर्षित भएका हुन् ।

कम क्षेत्रफलमा बढी उत्पादन लिन सकिने जनकदेव बिउ र उत्पादन लागत कम गर्न मेसिनको प्रयोगमा स्थानीय सरकार, कृषि ज्ञान केन्द्रले सहयोग गरेपछि युवाहरुका लागि मात्र नभई व्यवसायिक आलु खेती गर्ने रामपुरका एक सयभन्दा बढी कृषक उत्साहित भएका हुन् ।

हावापानी र भौगोलिक भू–बनोटको हिसावले जिल्लाको अर्गली, सर्देवा, माडी, जस्ता फाँटहरु उपयुक्त भएपनि पहिलो पटक स्थानीय सरकार, कृषि ज्ञान केन्द्रको आर्थिक प्राविधिक सहयोगमा स्थानीय कृषि सहकारीको व्यवस्थापनमा आलुको पकेट क्षेत्र नै बनाएर व्यवसायिक खेतीको थालनी गरिएको छ ।

श्रम गर्न विदेश पुगेका युवाहरुलाई कोभिड–१९ ले प्रभावित पारेपछि व्यवसायिक कृषितर्फ लागेको कोरियाबाट फर्किएका युवा उद्यमी सन्तोष देवकोटा बताउनु हुन्छ ।

उत्पादित वस्तुको बजारीकरण र भण्डारणका लागि स्थानीय सरकारले व्यवस्थापन गर्ने जिम्मेवारी लिएपछि करीब एक सय कृषक व्यवसायिक आलु खेतीमा लागेका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्थानीय युवाहरुले समेत उत्प्रेरित गरेकाले व्यवसायिक आलु खेतीमा लागेको स्थानीय युवा यमबहादुर भुजेल बताउनुहुन्छ ।

रामपुर नगर सरकारले जस्तै अन्य स्थानीय तहले पनि व्यवसायिक आलु खेतीमा युवाहरुलाई प्रोत्साहन दिने हो भने भारतलगायतका देशहरुबाट आयात हुने ठूलो परिमाणका आलुलाई रोकेर स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ ।