
काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी २०७८ साल बैशाख २३ मा नयाँ निर्वाचन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको दुई तिहाईनिकट शक्ति रहेको संसद विघटन गरी ताजा जनादेशका लागि २०७८ बैशाख २३ गतेको मिति प्रस्ताव गर्नुभएको हो ।
आइतबार विहान आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर संसद् विघटनको प्रस्ताव पारित गराउनुभएको प्रधानमन्त्री ओली राष्ट्रपतिसमक्ष आफ्नो प्रस्ताव लिएर शितलनिवास जानुभएको छ ।
संसद विघटन गरी नयाँ निर्वाचनमा जाने प्रधानमन्त्रीको सिफारिशलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदर गरिदिनुभएमा नयाँ संविधानपछि बनेको पहिलो संसद पनि अकालमै मृत्युवरण गर्न बाध्य हुने छ ।
संयोग के परेको छ भने नेपालको नयाँ संविधानमार्फत् गराइएको बहुदलीय प्रतिष्पर्धाअन्तर्गतका सबै संसदले अकालमै मृत्युवरण गर्नुपरेको छ ।
२०१५ सालको संविधानअन्तर्गत गराइएको निर्वाचनपछि बनेको निर्वाचित संसद २०१७ सालमा राजा महेन्द्रको कू पछि अकालमै मारिएको थियो ।
२०४७ सालको संविधानपछि बनेको पहिलो संसद २०५१ सालमा नेपाली कांग्रेसको आन्तरिक रडाकोका कारण मृत्युवरण बाध्य भएको थियो ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित गराउन नसकेपछि मध्यावधि निर्वाचनमा जाने निर्णय गर्दै संसद विघटन गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्