
काठमाडौं, पुष ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मूलतः अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबाट शुरु भएकोको कुर्सी प्राप्तिको झगडा अन्ततः पार्टी विभाजनमा पुग्ने देखिएको छ ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरिदिनुभएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल पक्षले ओलीविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको छ ।
यसले अब यो पार्टी एउटै छानामा बस्ने सम्भावना कम हुँदै गएको छ । यसको असर नेकपाभित्रको आन्तरिक समीकरणमा पनि देखिने भएको छ ।
प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने प्रस्तावप्रति विमती जनाएर सात मन्त्रीले राजीनामा दिँदा पूर्व माओवादी केन्द्रकातर्फबाट मन्त्री बन्नुभएका गृहमन्त्री रामबहादुर थापा र उद्योग मन्त्री लेखराज भट्टले भने राजीनामा दिनुभएन ।
उहाँहरु दुबै जना प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने प्रस्तावको पक्षमा उभिनुभएको देखिएको छ ।
दाहाल–नेपाल पक्षधर मानिने कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री बिना मगर र श्रममन्त्री रामेश्वर राय यादवले भने राजीनामा घोषणा गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्