१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अराजनीतिक र अनैतिक : खिमलाल देवकोटा


0
Shares

काठमाडौं, पुस ५ । संविधानविद् खिमलाल देवकोटाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अराजनीतिक र अनैतिक भएको टिप्पणी गर्नुभएको छ ।

झण्डै दुई तिहाई नजिक बहुमत भएको सरकारका प्रधानमन्त्रीले संविधान विपरित संसद विघटनको निर्णय गर्नु ‘विनाशकाले विपरित बुद्धि’ भएको टिप्पणी उहाँले गर्नुभयो ।

संविधानले प्रधानमन्त्रीलाई कुनै पनि हालतमा संसद विघटनको अधिकार नदिएको उहाँले बताउनुभयो ।

संविधानमा निर्वाचित प्रतिनिधिविहिन संसदको परिकल्पना नगरिएको उल्लेख गर्दै उहाँले संविधानको धारा ७६ मा बहुमतको सरकार निर्माण गर्न नसक्ने अवस्थामा दुई दल मिलेर सरकार बनाउने, त्यो पनि हुन नसके अल्पमतको सरकार बनाउने र त्यो पनि हुन नसके प्रतिनिधिसभाको सदस्यले सरकार बनाउन चाहेमा सरकार बनाउन सक्ने व्यवस्था गरिएको बताउनुभयो ।

यद्यपी३० दिनभित्र विश्वासको मत प्राप्त नसकेको अवस्थामा मात्रै संसद विघटन हुने र ६ महिनाभित्र निर्वाचन सम्पन्न गरिसक्ने व्यवस्था संविधानमा उल्लेख भएको उहाँले बताउनुभयो ।

जनताले स्थायी सरकार खोजेको भएपनि २ तिहाइ बहुमत भएको सरकारले नेतृत्व गरेको प्रधानमन्त्रीले संसद विघटनको बाटो रोज्ने कुरा राजनीतिक तर्कले पुष्टि गर्न नसक्ने उहाँले बताउनुभयो ।

संसद र सार्वभौम संसदप्रति प्रधानमन्त्रीले विश्वासमा लिन नसकेको पनि उहाँले बताउनुभयो ।