
काठमाडौं, पुष ६ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध एकजुट भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षधरका सांसदहरुको भेला संसद भवन बानेश्वरमा बसेको छ ।
भेलामा दाहाल र नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सांसदहरु सहभागी हुनुहुन्छ ।
तर रामबहादुर थापा र वामदेव गौतम भने उपस्थित हुनुभएको छैन । हिजोसम्म संसद विघटनको विपषमा देखिनुभएका गौतम उपस्थित नभएकामा आश्चर्यका रुपमा लिइएको छ ।
थापा भने प्रधानमन्त्री ओलीको कदमका पक्षमा देखिनुभएको छ ।
दाहाल र नेपाल पक्षका ९० भन्दा बढी सांसद संसद भवनमा भेला भएको जनाइएको छ ।
यसअघि सोमबार बिहान मात्रै प्रधानमन्त्री ओलीले आफूनिकट सांसदहरुको भेला बालुवाटारमा गर्नुभएको थियो ।
भेलामा सहभागी भएका सांसदहरुको हस्ताक्षर समेत गरिएको छ । संसद विघटनविरुद्ध संसदमा बहुमत जुटाउने भन्दै हस्ताक्षर गराइएको हो ।
यसक्रममा अरु पार्टीका सांसदको पनि हस्ताक्षर गराइने बताइएको छ ।
प्रतिनिधि सभामा १३८ सांसद भएमा बहुमत पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्