१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद विघटन घोर असंवैधानिक र अलोकतान्त्रिकः नेपाल बार एशोसिएसन


0
Shares

काठमाडौं । नेपाल बार एशोसिएसनले संसद विघटन गर्ने सरकारको कदमलाई घोर असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।

सोमबार जारी गरिएको विज्ञप्तिमा बारले सरकारको कदम घोर असंवैधानिक र अलोकतान्त्रिक हुनुका साथै यसले देश अस्थिरतातर्फ जान सक्ने खतरा औल्याएको छ ।

बार महासचिव लीलामणि पौडेलद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘..त्यस्तो गैरसंवैधानिक र गैरलोकतान्त्रिक कदमको नेपाल बार एसोसिएशन घोर विरोध र भर्त्सना गर्दै संविधानको पालना गरी पदीय मर्यादा कायम राख्न सम्बन्धित सबै निकाय र पदाधिकारीहरुमा अपील समेत गर्दछौं ।’

बारले संविधानको पालना र संरक्षण गर्नुपर्ने पदाधिकारीबाटै नेपालको संविधानको घोर उल्लंघन हुनु आपत्तिजनक मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमाथि नै बज्रपात भएको पनि जनाएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा मात्र संसद विघटन गर्न पाउने व्यवस्था संविधानले गरेको पनि नेपाल बारले जनाएको छ ।