
अक्कल कुँवर (इमेज)
काठमाडौं, पुस ६ । संसद विघटनपछि उत्पन्न जटिल परिस्थितिसंगै सत्तारुढ नेकपा औपचारिक विभाजनतर्फ उन्मुख भएको छ ।
ओली इतर पक्षले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरिसकेको छ भने ओली पक्षले गुट र गुटगत भेलाको निर्णय स्वीकार नगर्ने जनाएको छ ।
दुवै पक्ष एकअर्कालाई कसरी पछार्ने भन्ने रणनीतिमा लागेसंगै नेकपाका लागि अबका दिन थप जटिल बन्दै जाने निश्चत छ ।
संसद विघटनको सिफारिस अनुमोदन भएलगत्तै प्रधानमन्त्री निवाश बालुबाटारमा बसेको नेकपा स्थायी कमिटीका बहुसंख्यक सदस्यको बैठकले पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्न केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गर्यो ।
आफुलाई कारबाही गर्ने निर्णय गरिएको भोलिपल्टै सोमबार प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभाका नेकपा सांसदहरुको भेला गरेर संसद विघटन गर्नुको औचित्य प्रष्टाउने कोशिस गर्नुभयो ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालकै कारण संसद विघटन गर्नुपर्ने परिस्थितिमा पुगेको बताउनुभएका ओलीले आफु बाहेक अरुले कुनैपनि बैठक बोलाउन नसक्ने र पार्टीको अन्तरिक विधान विपरित बोलाइएका बैठकको निर्णय स्वीकार नगर्ने बताउनुभएको छ ।
कार्यकारी अध्यक्ष दाहालको हैसियत उपाध्यक्ष बराबर हो भन्दै ओलीले आफुले बोलाएको बैठकका निर्णय बाहेक अन्य निर्णय नमान्ने स्पष्ट संकेत गर्नुभएको हो ।
पार्टी अध्यक्ष एंव प्रधानमन्त्रीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको ओली इतर पक्ष पनि आफ्नो पल्लाभारी बनाउन तिव्र कसरतमा लागेको छ ।
इतर पक्ष संसद पुर्नस्थापनाको रणनीतिलाई प्राथमिकतामा राखेर रणनीति बनाउँदै छ ।
सोमबार विहान कानुन व्यवसायीसंग परामर्स गरेको दाहाल नेपालपक्षले मध्यान्ह आफु निकट निर्वतमान सांसदहरुको भेला गरेको छ ।
भेलामा नेताहरुले संसद विघटन गर्ने पार्टी अध्यक्ष ओलीको कदम र उत्पन्न नयाँ परिस्थिति बारे ब्रिफिङ गरेका छन् ।
इतर पक्ष संसद विघटन बिरुद्ध बहुमत जुटाउने कसरतमा लागेका छन् भने पार्टी अध्यक्ष ओलीलाई कारवाही गरेको निर्वाचन आयोगलाई जानकारी गराएका छन् ।
पार्टीभित्रको संकटपूर्ण परिस्थितिकाबीच कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको कदमले पार्टी एकतामा तात्विक असर नपर्ने दाबी गर्नुभएको छ ।
मंगलबार दुवै पक्षले केन्द्रीय समितिको वैठक डाकेका छन् ।
ओली पक्षले मंगलबार विहान ९ बजे र दाहाल पक्षले दिउँसो १ बजेका लागि केन्द्रीय समिति वैठक डाकेका छन् ।
ती वैठकमा हुने सहभागिताले पनि कुन पक्ष कति पानीमा छ भन्ने अनुमान गर्न सकिने छ ।
तर, संसद विघटनपछिको अवस्था, दुवै पक्षको रणनीती र गृहकार्य हेर्दा एकता भएको झण्डै दुई वर्षपछि नेकपा विभाजनको अन्तिम विन्दुमा पुगेको छ ।
भिडियो हेर्नुहोस्
भिडियो : लक्ष्मणमान डंगोल
प्रतिक्रिया दिनुहोस्