
गृष्माराज भण्डारी (इमेज)
काठमाडौं, पुस ६ । संसद विघटन भएसँगै शान्ति सुरक्षाको चुनौती थपिने देखिएको छ ।
संसद विघटनको विरोधमा सत्तारुढ दलको एउटा पक्ष सडक प्रदर्शनमा उत्रिएको छ भने अन्य विपक्षी दलहरु पनि सडक संघर्षका लागि छलफलमा रहेका छन् ।
सडक प्रदर्शनहरु चर्किदै गएमा देशमा सुरक्षा संकट बढ्नसक्ने आँकलन गरेका सुरक्षा निकायहरु हाइ अलर्टमा देखिएका छन् ।
७० वर्षदेखिको राजनीतिक अस्थिरतालाई अन्त्य गर्दै संविधानसभाबाट बनेको संविधान अनुसार निर्वाचनर भएर झण्डै दुई तिहाई बहुमतको सरकार गठन भएको तीन वर्ष पनि पुगेको छैन ।
तर ५ वर्षको म्याण्डेड पाएको केपी शर्मा ओली नेतृत्वको सरकार पनि ३ वर्षमा नै तुहिएको छ ।
सत्तारुढ दलभित्रको खिचातानीको शिकार प्रतिनिधि सभा बनेको छ र मुलुकमा नयाँ चुनावको मिति घोषणा गरिएको छ ।
तर प्रधानमन्त्री ओली पक्षले बाहेक प्रतिनिधिसभा विघटनलाई संविधान विपरित भनेका छन् ।
उनीहरुले विघटनको प्रतिवाद गर्ने घोषणा गरिसकेका छन् । जसका कारण अब मुलुक राजनीतिक मुठभेडको बाटोमा जाने खतरा बढेको छ ।
राजनीतिक मुठभेडबाट देशमा निम्तने सक्ने सुरक्षा खतराको मध्य नजर गर्दै तीन वटै सुरक्षा निकायहरु अहिले हाइ अलर्टमा छन् ।
संसद विघटन लगत्तै नेपाली सेनाले पृतनापतीहरुलाई हाई अलर्टमा रहन निर्देशन दिएको छ ।
देशभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिईएको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।
सुरक्षा घेरामा दोस्रो पंक्तिमा रहने सशस्त्र प्रहरी बलले पनि देशमा पछिल्लो समय विकसित राजनैतिक परिवेशलाई सामना गर्न सशस्त्र प्रहरी हरदम तयारी अवस्थामा रहेको शसस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याले जानकारी दिनुभयो ।
यता, संसद बिघटनपछी सडकमा बढ्नसक्ने सुरक्षा चुनौतीलाई दृष्टीगत गरी नेपाल प्रहरीले पनि देशभर सुरक्षा सतर्कता बढाएको छ ।
शान्ति सुरक्षाको दृष्टिकोणबाट पहिलो घेरामा रहने गरेको नेपाल प्रशरीले देशमा जारी बिरोध प्रदर्शन, र्याली जस्ता कार्यक्रमलाई ख्याल गदैै सुरक्षा सतर्कता बढाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक बसन्त बहादुर कुँवरले बताउनुभयो ।
राजनीतिक मुडभेडले राजनीतिक उच्च नेतृत्वमा रहने ब्यक्तिहरुको सुरक्षामा पनि चुनौती थपिने आशंकाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललगायतको सुरक्षा बढाइएको छ ।
कोरोना महामारीका कारण देशमा स्वास्थ संकटकालिन अवस्था छ ।
कोरोनाको रोकथाम र उपचार सेवा सुलभ नभएको भन्दै सरकारको आलोचना पनि भइरहेकै छ ।
त्यसमाथि अब सडकमा राजनीतिक मुठभेड पनि थपिंदा सुरक्षा चुनौती बढ्ने निश्चित छ ।
भिडियो हेर्नुहोस्
भरत केसी : भरत केसी
प्रतिक्रिया दिनुहोस्