
काठमाडौं, पुस ६ । कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीविरुद्धको मोर्चावन्दीमा दाहाल–नेपाल समूहलाई सहयोग गर्ने बताउनुभएको छ ।
सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको नेकपा, जसपा र कांग्रेस शिर्षनेताहरुको बैठकमा ओलीको असंवैधानीक कदमविरुद्धको संघर्षमा साथ दिने देउवाले बचन दिनुभएको हो ।
संवैधानीक परिषदमा देउवाका मान्छे समेत परेपछि ओली–देउवा सहकार्यको चर्चा थियो ।
तर, ओलीविरुद्धको मोर्चाबन्दीमा साथ खोज्दै सानेपा पुगेका नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल लगायतका नेतालाई देउवा सहयोग गर्न लचक बनेको सानेपा स्रोतले जानकारी दिएको छ ।
कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ ।
बैठकपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको घोषणालाई संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको निष्कर्ष बैठकले निकालेको बताउनुभयो ।
संसद विघटनको निर्णय विरुद्ध तीन वटै पार्टीले एकतावद्ध भएर अगाडी बढ्ने समझदारी पनि भएको उहाँले बताउनुभयो ।
कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध तीनवटै पार्टी एकमत भएको निष्कर्ष बैठकले निकालेको बताउनुभयो ।
तीनै दलको केन्द्रीय कार्यसमिति बैठक पश्चात् पुनः तीन दलको बैठक बसेर प्रधानमन्त्री ओलीको असंवैधानीक कदमविरुद्ध कस्तो कदम चाल्ने भन्ने रणनीति तय गर्ने लेखकले जानकारी दिनुभयो ।
सोमबारको बैठकमा कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्रीद्वय शशांक कोइराला , पूर्ण बहादुर खड्का लगायतको उपस्थिती रहेको थियो ।
मंगलबार नेकपा तथा कांग्रेस दुबै पार्टीले केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् ।
दुबै पार्टीको बैठकमा संसद विघटनपश्चात् उत्पन्न भएको परिस्थिी र आगामी कदमको विषयमा छलफल गर्ने तयारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषदको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटनको घोषणा गरेसँगै राजनीतिक संकट देखापर्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्