३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


सांसद यादवको राजिनामाः सीके राउतका लागि बन्छ त संसद यात्राको बाटो ?


0
Shares

काठमाडौं, साउन २८ । सप्तरी जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित समाजवादी पार्टीका सांसद डा. सूर्य नारायण यादवले एकाएक राजीनामा दिए । सभामुख कृष्णबहादुर महरासमक्ष बुझाइएको राजिनामा यादवले किन गरे भन्ने कौतूहलता देखिएको छ ।

स्वास्थ्यको कारण देखाउँदै सोमवार राजीनामा गरे पनि भित्री खेल अरु नै हुनसक्ने आशंका पनि गरिएको छ । यद्यपि, राजिनामा फिर्ता लिन आग्रह गरिएको पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताएका छन् ।

यादव सप्तरी क्षेत्र नम्बर १ बाट तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए । मृगौला र मधुमेहसम्बन्धी रोगबाट पीडित सांसदले राजिनामाको कारण आफ्नो स्वास्थ्य अवस्था रहेको उल्लेख गरेका छन् ।

सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले सांसद यादवको राजीनामा सभामुखसमक्ष आए पनि स्वीकृत भैनसकेको बताएका छन् । यादवको राजीनामाबारे सभामुख महराले समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियासँग छलफल पनि गरेका छन् ।

संसद नियमावलीअनुसार सभामुखले सांसदको राजीनामा स्वीकृत त गर्न सक्छन् तर यसका लागि पार्टीको पत्र कुर्ने बताइएको छ । सम्भवतः पहिलो घटना मानिएको निर्वाचित सांसदको राजीनामामा अरु के कारण हुनसक्छ भन्ने चासो भने बढेको छ ।

यदि यादवको राजिनामा स्वीकृत गरिए, उक्त स्थानमा कसलाई जिताउन खोजिएला भन्ने चासो भने नेपाली राजनीतिमा बढेको छ ।

देश टुक्र्याउने अभियान छाडेर मूल राजनीतिमा प्रवेश गरेका भनिएका सीके राउतलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाउने खेल पनि शुरु भएको बताइएको छ । यसका लागि समाजवादी पार्टी र राउतको जनमत पार्टीबीच एकता हुनसक्ने खबर पनि बाहिरिएको छ ।

राउतलाई जेलबाट छुटाउँदै मूल राजनीतिमा ल्याउने बेलामै उनलाई संसदमा लगिने बचन दिइएको विषय उठेको थियो । सायद त्यसैका लागि यादवको राजिनामा त होइन भन्ने आशंका भने बढेको छ ।