
सउल, पुस ८ । दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ ।
यहाँको सरकारले अबदेखि सार्वजनिकस्थलमा एकै पटक चार जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरेको छ ।
आउँदै गरेको क्रिसमस पर्व तथा नयाँ वर्षका समयमा हुन सक्ने भीडभाडलाई ध्यानमा राखी सरकारले बिहीबारदेखि देशैभर उक्त नियम लागू हुने बताएको छ ।
यससँगै कम्पनीभित्रै सहकर्मीबाट पनि कोरोना फैलिन सक्ने भएकाले कामका समयमा समेत अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भएको छ ।
छड्के जाँचका अवस्थामा कुनै कामदार वा कर्मचारीले मास्क नलगाएको भेटिएमा कम्पनीका तर्फबाट र मास्क नलगाउने कर्मचारीबाट जरिवाना हुने बताइएको छ ।
यसअघि नै सार्वजनिकस्थलमा ‘नो मास्क नो राइड’ नियम लागू छ ।
पछिल्लो पटक कोभिडको अत्यधिक प्रभाव रहेका सउल, ख्याङ्दिो तथा इन्छन क्षेत्रमा थप कडाइका साथ उक्त नियम लागू गरिने भएको छ ।
दक्षिण कोरियामा एक हप्तादेखि लगातार दैनिक सङ्क्रमितको सङ्ख्या एक हजार बढी नाघ्न थालेपछि अस्पतालमा शय्या अभाव हुन थालेको छ ।
सरकारले नियन्त्रणस्वरूप सामाजिक दूरीलाई थप कडा पार्दै आइरहेको छ ।
दक्षिण कोरियामा हालसम्म सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको छ ।
जनवरीको अन्तिमदेखि कोरियाले पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।
दक्षिण कोरिया सरकारले आगामी जनवरीको अन्त्यदेखि कोरोनाविरुद्ध खोप लगाउने तयारी गरेको छ ।
सरकारी स्वास्थ्य अधिकारीका अनुसार पहिलो चरणमा अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मीमा खोप दिइने बताइएको छ ।
कोरियाले आपत्कालीन प्रयोगका निमित्त प्रारम्भिक आपूर्तिस्वरूप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको दुई करोड ५० लाख मात्रा खोप प्राप्त गर्नेछ ।
हाल कोरिया उक्त खोपको अन्तिम स्वीकृतिको पर्खाइ छ ।
प्रतिक्रिया दिनुहोस्