
काठमाडौं, पुस ८ । दुई चिरामा विभक्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल खेमाले प्रधानमन्त्री केपी ओलीलाई पार्टी संसदीय दलको नेताबाट बर्खास्त गरेको छ ।
दलको नेतामा चुनिएपछि पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले विघटन गराएको संसद पुनर्स्थापना गरिने र नयाँ सरकार पनि बनाउने दाबी गर्नुभएको छ ।
दाहालले संसद विघटन अवैधानिक भएकाले अदालतबाट पुनर्स्थापना हुने भन्दै यसबारेमा अरु संसदीय दलका नेताहरूसँग पनि छलफल गरिने बताउनुभयो ।
मंगलबार बानेश्वरमा बसेको दाहाल–नेपाल खेमाको संसदीय दलको बैठकले दाहाललाई सर्वसम्मत रूपमा दलको नेता चुनेको हो । प्रतिनिधि सभाका ९३ र राष्ट्रिय सभाका २४ जना सदस्य उपस्थित भएर दाहाललाई दलको नेता चुनेको थियो ।
दाहालले केन्द्रीय समितिका ७० प्रतिशत सदस्य आफ्नो पक्षमा भएकाले आफूहरुनै वैधानिक नेकपा रहेको दाबी पनि गर्नुभयो । उहाँले संसदीय दलमा पनि आफूहरुकै बहुमत भएकाले वैधानिकता आफूहरुले पाउने बताउनुभयो ।
संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै दाहालले यस कदमका पछाडि ठूलै षड्यन्त्र रहेको दाबी गर्नुभयो ।
दाहालले यसमा लाग्ने देशी विदेशी शक्तिको षड्यन्त्र विस्तारै खुल्दै जाने भन्दै विश्वले नेपालको यस घटनालाई चासोका साथ हेरिरहेका बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्