
काठमाडौं, पुस ११ । शनिबार (आज) काठमाडौं उपत्यकाको तापक्रम यो वर्ष जाडो सुरु भएपछिकै निकै कम भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको छ ।
शुक्रबार काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री थियो ।
यसअघि गएको पुस ३ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन गरिएको थियो ।
शनिबार भने काठमाडौंको तापक्रम अहिलेसम्मकै कम मापन गरिएको र तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ ।
शनिबार अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
यस्तै शनिबार तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य ठाउँको मौसम सामान्यतया सफा रहने छ ।
हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव छ ।
दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने विभागको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्