
काठमाडौं, पुस १२ । नेपालको चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनप्रति आपत्ति जनाउनुभएको छ ।
यो देश प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीको मात्र निजी सम्पत्ति नभएको भन्दै डा. केसीले कुनै बेला देशलाई आफ्नो सम्पत्ति सम्झेका राजा ज्ञानेन्द्रलाई नागरिकले कसरी थान्को लगाए, त्यो नबिर्सन चेतावनी दिनुभएको छ ।
डा. केसीले आइतबार विज्ञप्ति निकाली भन्नुभएको छ, ‘यो देश प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति हैन । यसैगरी कुनै बेला देशलाई आफ्नो सम्पत्ति सम्झेका राजा ज्ञानेन्द्रलाई नागरिकले कसरी थान्को लगाए, त्यो कसैले नबिर्से हुन्छ ।’
जनताको रगत र बलिदानीबाट संविधान बनेको तथा नेताकाभन्दा जनताका कारण गणतन्त्र स्थापना भएको भन्दै केसीले भन्नुभएको छ, ‘अहिलेको संविधान पनि सर्वसाधारणले रगत र पसिना बगाएर, प्राण अर्पेर ल्याएका हुन्, नेताहरूको चोंचोमोंचो र गठजोडले गणतन्त्र स्थापना भएको हैन । त्यसैले यो संविधानलाई आफ्नो स्वार्थको फुटबल बनाउनेहरूलाई कुनै पनि हालतमा त्यस्तो कुकर्मका लागि दण्डित गर्नु पनि हाम्रो नागरिक कर्तव्य हुन्छ ।’
सर्वोच्च अदालतमा यसविरुद्ध मुद्दाको सुनुवाई चलिरहेका समयमा केसीले अदालतबाट न्याय पाइने विश्वास व्यक्त गर्दै भन्नुभएको छ, ‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर चालिएको यस्ता कदमलाई न्यायालयले सच्याइदिनेछ भन्ने नागरिकहरूको अपेक्षा छ । यससँगै देशको न्यायालय पनि अग्नि परीक्षामा छ ।’
न्यायालयको फैसलामा मात्र भरपर्ने नभई संविधान जोगाउने जिम्मेवारी पनि नागरिकमा रहेको भन्दै उहाँको विज्ञप्तिमा उल्लेख छ, ‘न्यायालयले जस्तो फैसला गरे पनि सत्ताको उन्मादमा रहेका व्यक्तिहरूको प्रहारबाट विधिको शासन र संविधानलाई जोगाउने जिम्मेवारी हामी नागरिकसामु सदा रहने नै छ ।’
प्रतिक्रिया दिनुहोस्