
खोटेहाङ, पुस १२ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित कालापानीमा सुनकोशीको पानी तानेर गाउँमा उपभोग गर्न थालिएको छ ।
फोक्सिङटारस्थित सुनकोशी नदीबाट करीब एक हजार ८०० मिटरको उचाइमा रहेको कालापानीमा दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईको पहलमा उक्त पम्पिङ खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो ।
राजनीतिक सङ्गठन निर्माण गर्नेक्रममा कालापानी पुगेका राईले विसं २०७०/७१ देखि सो आयोजनाको बारेमा छलफल शुरुवात गर्नुभएको थियो ।
रसुवाघाट–कालापानी खानेपानी आयोजना नाम दिइएको २०७६ पुस २४ मा सम्पन्न भए पनि देशभर फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण उद्घाटन रोकिएको थियो ।
सुनकोसीको पानी लिफ्टिङ प्रविधिबाट कालापानीमा निकाल्न विसं २०७२ साल चैत ११ गते रसुवाघाट–कालापानी खानेपानी आयोजनाको स्वयम् राईले शिलान्यास गर्नुभएको थियो ।
नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालयको अनुदान तथा उपभोक्ताको रु. ३६ लाख बराबरको श्रमदानगरी करीब रु. एक करोड ८० लाखमा उक्त आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो ।
विद्युत्मार्फत सञ्चालनमा ल्याइएको पम्पिङ खानेपानी आयोजना करीब एक हजार ८०० मिटरमाथि रहेको कालापानीस्थित बिकट गाउँमा निकालिएको छ ।
नदीको पानी गाउँकै धारामा झर्न थालेपछि स्थानीयवासी हर्षित भएका छन् ।
पिउने पानीको चरम अभावमा तीब्र बसाईसराई रहेको कालापानीमा शुरु गरिएको रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम पूरा भएसँगै नदीको पानी गाउँमा निकालिएको हो ।
आयोजनाबाट कालापानीका ६२ घरमा धारा पुर्याइएको छ ।
खानेपानी आयोजना जिल्लाकै पहिलो र ठूलो लिफ्टिङ योजना हो ।
कालापानीका ९७ घरलाई लक्षित गरेर शुरु गरिएको आयोजना सम्पन्न हुँदा बसाइसराईले ६२ घर मात्र बाँकी रहेको अध्यक्ष राउतले बताउनुभयो ।
“नदीको पानी निकालेपछि वर्षौदेखि खानेपानीको समस्या हल भएको छ”, उहाँले भन्नुभयो, “उपभोक्तामाथि पर्ने आर्थिक भार कम गर्न विद्युत्को सट्टा सौर्य ऊर्जा प्रयोग गर्ने लक्ष्य राखेका छौँ ।”
लिफ्टिङ आयोजनाका लागि नदी किनारमा मेसिन राख्ने घर निर्माण गरेर पानी तान्ने बोरिङ उपकरण जडान गरिएको छ ।
सो बोरिङस्थलबाट विद्युत्को सहायतामा ५० एमएमको जिआई पाइपमार्फत १०/१० हजार लिटर क्षमताको दुई वटा सप्लाई ट्याङ्कीमार्फत सबैभन्दा माथि गाउँमा निर्माण गरिएको ३५ हजार लिटर क्षमताको आरसिसी ट्याङ्कीमा पानी जम्मा गरेर वितरण गरिएको छ ।
छिमेकी वडा इन्द्रेणीपोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि कालापानीका ११५ घरपरिवारले यसअघि घण्टौँ धाएर पानीको जोहो गर्न बाध्य थिए ।
गाउँ र नदीकोबीचमा निर्माण गरिएको पहिलो र दोस्रो सप्लाई ट्याङ्की हुँदै सबैभन्दामाथि निर्माण गरिएको मूल ट्याङ्कीमा नदीको पानी निकालेर ९७ धारामार्फत ५०० भन्दा बढि उपभोक्तालाई पानी वितरण गर्ने लक्ष्य गरिएको तर आयोजना सञ्चालनकैक्रममा दर्जनौँ घरपरिवार बसाई सरिसकेकाले निर्धारित धारा सङ्ख्या वितरण नभएको समितिले जनाएको छ ।
खानेपानीको समस्या चर्किँदै गएपछि कालापानीमा सुनकोशीको पानी लिफ्ट गर्ने प्रयासस्वरुप वि.सं २०७० मा ‘डिटेल सर्भे’ गरिएको थियो ।
कालापानीका स्थानीय चुहार पँधेरा, मानेखोला पधेरा र खारखोला पधेराबाट दुई घण्टा हिँडेर खानेपानी उपभोग गर्न बाध्य थिए ।
स्थानीय शिक्षक अस्विन राउतका अनुसार सुख्खाग्रस्त क्षेत्रकारुपमा रहेको कालापानीमा ल्याउने पानीको अन्य स्रोतको बिकल्प छैन ।
कालापानीमा खानेपानीको समस्या हल गर्न ‘नदीको पानी निकाल्नु वा बस्ती सार्नु’ पर्ने अवस्था देखिएपछि कांग्रेस महाधिवेशन प्रतिनिधि एवम् गाउँपालिका प्रमुख राईकै पहलमा रसुवाघाट–कालापानी पम्पिङ आयोजनाको काम अघि बढाइएको थियो ।
कालापानीमा सुनकोशीको पानी तान्ने योजना शुरु भएसँगै हलेसी क्षेत्रमा दूधकोशीको, रावाबेँसीको डुम्रेधारापानीमा दुधकोशीको र दिक्तेलमै साप्सु खोलाको पानी लिफ्ट गर्ने योजना अघि बढाइ सकिएको छ ।
नदीको पानी गाउँमा निकाल्न योगदान पु¥याएकामा गाउँपालिका प्रमुख राईलाई सम्मान गरिएको छ ।
खानेपानी आयोजना उद्घाटनको अवसरमा समितिका अध्यक्ष राउतल सम्मानपत्रसहित दोसल्ला ओढाए सम्मान गर्नुभयो ।
पिउने पानीको चरम अभाव भएको गाउँमा वैकल्पिक व्यवस्थास्वरुप नदीको पानी लिफ्ट गर्ने योजना अघि बढाउन र सम्पन्न गराउन योगदान पुर्याएकामा राईलाई सम्मान गरिएको उपभोक्ता समितिका अध्यक्ष राउतले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्