
अक्कल कुँवर (इमेज)
काठमाडौं, पुस १३ । संसद विघटन र सत्तारुढ दल नेकपाको विभाजनपछि आइतबार आकस्मिक रुपमा काठमाडौं आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको विशेष प्रतिनिधिमण्डल तिव्र राजनीतिक भेटवार्तामा व्यस्त छ ।
काठमाडौं अवतरण भएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेटवार्ता गरेको चिनियाँ टोलीले सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेको छ भने अन्य नेताहरुसँग पनि भेटवार्ता हुने जनाइएको छ ।
नेपालको पछिल्लो राजनीतिक अवस्था र आफ्नो चासो लिएर आएको चिनियाँको भ्रमणलाई नेकपाको विभाजनसँग पनि जोडेर हेरिएको छ ।
एअर चाइनाको चार्टर विमानबाट काठमाडौं उत्रनासाथ नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले विशेष प्रतिनिधिमण्डललाई नेपालको पछिल्लो राजनीतिक अवस्था बारे विशेष टोलीलाई ब्रिफिङ गर्नुभयो ।
लगत्तै राजदुतसहित चिनियाँ विशेष टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्यो ।
चीनको अहिलेको सबैभन्दा चिन्ताको विषय नेकपा विभाजन हो ।
राजनीतिक भेटवार्तामा चिनियाँ विशेष टोलीले नेकपा विभाजन, तिब्बत भूमिसहित सूरक्षा चासो, विगतमा दुई देशबीच भएका सहमति र सम्झौताको कार्यान्वयनको अवस्थाबारे चिनियाँ चासो राखेको जनाइएको छ ।
मुलुकको राजनीति अस्थिर भएको अवस्थामा नेकपा गठबन्धन बनाउन पहले गर्ने बाहिरी सूत्रधारका रुपमा चर्चा हुने गरेको उपमन्त्री कुओको भ्रमणलाई नेकपाको विभाजनसंग जोडिएको छ ।
राजनीतिक वृत्तमा चिनियाँ विशेष टोलीको भ्रमणले विभाजन भएको नेकपा पुनः एक हुने चर्चा चलेको छ ।
तर, चीनका लागि पूर्वराजदुत टंक कार्की नेकपाको एकतामा चीनले सद्भाव राखेपनि विभाजन रोक्न आएको भन्न नसकिने बताउनुहुन्छ ।
हुन त संविधान जारी भएपछिका वर्षहरुमा नेकपाको एकताका पक्षमा देखिने गरी भूमिका निभाउँदै आएको चीनले यसपटक पनि नेकपाका दुई समुहलाई जोड्नकै लागि हतारमा विशेष टोली पठाएको मत पनि बलियो छ ।
तर, कुटनीतिज्ञ प्रा.डा.लोकराज बराल पनि चीनले जोेड्ने प्रयास गरेपनि नेकपा तत्काल एक हुनेमा आशंका व्यक्त गर्नुहुन्छ ।
पूर्व राजदुत कार्कीले नेकपा विभाजनपछिको राजनीतिक परिस्थिति र परिर्वतित परिस्थितिसंगै चीनले अख्तियार गर्नुपर्ने नेपाल नीति बारे अध्ययन गर्न चिनियाँ उच्चस्तरीय टोली आएको हुनसक्ने धारणा राख्नुभयो ।
एकता र सहकार्यको लागि चिनियाँ राष्ट्रपति सी चिनफिङको शन्देश लिएर आएको ठानिएको उच्चस्तरीय चिनियाँ टोलीले नेकपाकै एकतामा जोड दिने कतिपयको विश्लेषण छ ।
हुन त नेकपा विभाजनलगत्तै राजदुत यान्छीले राष्ट्रपतिसहित नेकपाको नेताहरुलाई भेटेर चिनियाँ चासो व्यक्त गरिसक्नुभएको थियो ।
विगतदेखि नै चीनले आफ्नो तिब्बत भूमिसहितको सुरक्षा चासो र नेपालको राजनीतिमा स्थिरताका पक्षमा सरोकार राख्दै आएको थियो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्