
काठमाडौं, पुस १३ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधिसभा विघटनविरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ ।
सोमबार देशको संघीय निर्वाचन क्षेत्रको १६५ वटै ईकाइमा विरोध प्रदर्शन र सभा गर्दै कांग्रेसले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अधिनायकवादतर्फको यात्राको संज्ञा दियो ।
तर कांग्रेसका नेताहरुको भाषण भने थरी थरीका देखिए । खासगरी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच संसद विघटन र अदालतमा पुगेको मुद्दालाई हेर्ने विषयमा अन्तर देखियो ।
भत्तपुरमा भएको सभालाई सम्बोधन गर्न पुग्नुभएका सभापति देउवाले अदालतको निर्णयलाई सम्मान गर्ने भन्दै निर्णय कुर्ने र कुनै दबाब नदिने प्रष्ट गर्नुभयो ।
ओलीको कदमलाई असंवैधानिक र लोकतन्त्र विपरीत भन्दै देउवाले भन्नुभयो, ‘अदालतमा विचाराधीन मुद्दामा यो गर ऊ गर भनेर हाम्रो पार्टीले भन्दैन ।’
पार्टीले अदालती आदेश मान्ने भन्दै देउवाले भन्नुभयो, ‘हाम्रो पार्टी अदालतको सम्मान गर्ने पार्टी हो । कानुन मान्ने पार्टी हो । विरोध प्रदर्शन गरिरहन्छौं । अदालतको निर्णय पनि पर्खंन्छौं । हाम्रो पार्टीले अदालतलाई तर्साएर, धम्क्याएर निर्णय गर् भनेको छैन । पञ्चायतमा पनि हामीले अदालतबाट न्याय पाएको थियो । अदालत स्वतन्त्र छ ।’

उता, गृहजिल्ला तनहुँमा विरोध सभालाई सम्बोधन गर्न पुग्नुभएका नेता पौडेलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिचेको आरोप लगाउँदै प्रतिनिधिसभा पनि पुनर्स्थापित नहुने र चुनाव पनि नहुने अवस्था आउन सक्ने आशंका व्यक्त गर्नुभयो ।
देशलाई अफगानिस्तान बनाउन खोजिएको आरोप लगाउँदै नेता पौडेलले त्यसलाई रोक्ने विकल्प अदालतसँग मात्र रहेको बताउनुभयो ।
नेता पौडेलले संविधानको अक्षर, भावना र मर्म बुझिदिन आग्रह गर्दै भन्नुभयो, ‘सर्वोच्च अदालतका न्यायमूर्तिहरुलाई एउटै अनुरोध गर्न चाहन्छु, संविधानलाई राम्रोसँग पढिदिनुस् । संविधानको अक्षर, भावना र विधिदाताको मनसाय बुझ्नुस् ।’
संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नै नदिएको भन्दै उहाँले अदालतबाट न्याय सम्पादन गर्दा न्यायाधीशहरुले संविधानको अक्षर र मर्म दुबै बुझेर गर्न आग्रह गर्नुभयो ।
चुनाव हुँदा कांग्रेसलाई फाइदा त होला, तर त्यो क्षणिक हुने भन्दै उहाँले संसद विघटनले वैधता पाए संविधान र लोकतन्त्र नै जाने भएकाले विरोधमा उत्रिनु परेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्