७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


प्रधानमन्त्री महिला कप क्रिकेटको सेमिफाइनलमा, लुम्बिनी ६१ रनले पराजित, प्रदेश २ सान्त्वना जित


0
Shares

काठमाडौं, पुस १३ । सशस्त्र प्रहरीको एपीएफ समूह विजेता बन्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

दाङको लमहीमा भएको समूह चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ६१ रनले पराजित गर्दै सशस्त्र ६ अंकसहित अपराजित रहँदै सशस्त्र सेमिफाइनलमा पुगेको हो ।

खेलमा पहिले ब्याटिङ्ग गरेको सशस्त्रले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा एक सय २२ रन बनायो ।

ज्योती पाण्डेले ४९ तथा इन्दू बर्माले २८ रन बनाएको इनिङ्समा लुम्बिनीकी कप्तान नेरी थापाले २ विकेट लिइन् ।

जवाफमा उत्रिएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ६१ रनमात्र बनाउन सक्यो ।

लक्ष्मी चौधरीले ११ तथा सरस्वती पुनले १० रन बनाए बाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न नसकेको इनिङ्सलाई सस्तैमा रोक्ने क्रममा करुणा भण्डारीले ३ तथा सोनु खड्का र रेखा रावलले १–१ विकेट लिए ।

हारपछि उपविजेता बन्दै लुम्बिनी ४ अंकसहित सेमिफाइनलमा पुगेको छ ।

समूहको अन्तिम खेलमा प्रदेश २ ले सान्त्वना जित हासिल गरेको छ ।

प्रतियोगिताबाट बाहिरिएको प्रदेश २ ले पुछारमा रहेर बाहिरिएको कर्णाली प्रदेशलाई १ सय ४३ रनको विशाल अन्तरले पराजित गरेको हो ।

खेलमा पहिले ब्याटिङ्ग गरेको प्रदेश २ ले ओपनर अनुराधा चौधरीको ६० बलमा अविजित ६९ रनको मद्धतले ३ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । अतिरिक्त ४३ रन पाएको प्रदेश २ का लागि शोभा आलेले २३ तथा बिमला मगरले २१ रनको योगदान दिइन् ।

जवाफमा कर्णालीले ९ विकेटको क्षतिमा २२ रनमात्र बनाउन सक्यो ।

६ खेलाडीले रनको खातासमेत खोल्न नसकेको इनिङ्समा सरस्वती कुमारी र कविता गौतमले ३–३ विकेट लिए ।

मंगलबारदेखि समूह बी का खेलहरु हुनेछन् ।