१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेसले गर्‍यो देशैभर प्रदर्शन, संसद विघटन विरुद्ध भने फरक-फरक धारणा


13
Shares

काठमाडौं, पुस १३ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध नेपाली कांग्रेस पनि सडकमा उत्रिएको छ ।

संसद विघटनलाई कसरी हेर्ने भन्ने विवादका बीच कांग्रेसले सोमबार देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन र आमसभा गरेको हो ।

तर सडकबाट पनि कांग्रेस नेताहरुको साझा धारणा भने आउन सकेन ।

संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भने पनि नेपाली कांग्रेसको नेतृत्वमा विघटनलाई कसरी लिने भन्ने विवाद सडकसम्मै प्रकट भएको छ ।

केन्द्रीय कार्यसमिति बैठकको दबाव र जनदवावका कारण काठमाडौंका १० वटै निर्वाचन क्षेत्र तथा देशभरका १६५ निर्वाचनमा एक साथ प्रदर्शनमा उत्रिएको कांग्रेस नेताहरुले विघटनलाई असंवैधानीक कदम भने पनि उनीहरुले साझा स्वर भने बनाउन सकेनन् ।

भक्तपुरमा आयोजित विरोध सभामा बोल्दै सभापति शेरवहादुर देउवाले सर्वोच्च अदालतले जे फैसला गर्छ आफूहरुलाई त्यो मान्य हुने बताउनुभयो ।

१० मिनेट भाषण गर्नुभएका देउवाले संसद पुर्नस्थापना गराउने विषयमा चुइक्क बोल्नुभएन ।

बरु जनसम्पर्क बढाएर चुनावी तयारी गर्न अप्रत्यक्ष रुपमा निर्देशन दिनुभयो ।

यता, काठमाडौंमा भएको विरोध सभालाई सम्बोधन गर्दै देउवा निकट मानिनुभएका सहमहामन्त्री प्रकाश शरण महतले पनि अदालतमा भएको विषयमा भन्दा पनि चुनावतर्फ पार्टीको ध्यान जानुपर्ने जिकिर गर्नुभयो ।

तर उता, चितवन पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलले भने राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान, लोकतन्त्रमाथि प्रहार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव पनि नगर्ने र संसद पुनर्स्थापना पनि नहुने अवस्था आएमा देश संकटमा फस्ने बताउनुभयो ।

उहाँले सर्वोच्चले मात्रै अव देशलाई जोगाउन सक्ने भन्दै न्यायमुर्तिहरुले यो संविधानलाई राम्रोसँग पढ्नुपर्ने जिकिर गर्नुभयो ।

यस्तै नवलपुर पुगेका पार्टी महामन्त्री शशांक कोइरालाले चुनावको तयारी गर्न गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

कोइरालाले पनि चुनावको तयारीमा लाग्न निर्देशन दिनुले पौडेल समूहभित्र निर्वाचनलाई प्राथामिकता दिने कि संसद पुर्नः स्थापनालाई जोड दिने भन्नेमा मतभेद रहेको प्रष्ट भएको छ ।

यता, विराटनगर पुगेर केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद बिघटन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीमात्र होइन पुष्पकमल दाहाल र माधव नेपालको पनि उत्तिकै दोषी रहेको जिकिर गर्नुभयो ।

कांग्रेसभित्र आफ्नै नेतृत्वमा आएको संविधानको रक्षार्थ र संसद पुर्न स्थापनाका लागि सडक संघर्ष गर्ने नगर्ने विषयमा समूहगत ध्रुविकरण छ । सभापति देउवा समूह अन्दालतको निर्णयलाई वाहाना बनाएर संसद पुर्नस्थापना भन्दा पनि सत्ता समिकरणमा लाग्ने संकेत दिनुभएको छ ।

पौडेल समूह भने निर्वाचनको तयारी गर्दै संसद पुर्नस्थापनाका लागि सडकबाट दबाव दिनुपर्ने पक्षमा छ ।

एकातिर आफ्नै नेतृत्वमा आएको संविधानको रक्षा गर्नुपर्ने दायित्व र अर्कोतिर मध्यावधि निर्वाचनबाट लाभ उठाउनु पर्ने अवसर मध्ये कुन छान्ने भन्ने दोधारमा फस्दा कांग्रेसको भूमिका कमजोर देखिएको छ ।

भिडियो हेर्नुहोस्