
सुरेन्द्र भण्डारी (इमेज)
झापा, पुस १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको अन्तर संर्घषले ओलीकै गृह जिल्ला झापाको राजनीति थप तरङ्गित बनेको छ ।
विभिन्न जिल्लामा ओली र दाहाल – नेपाल समूहले पार्टी कार्यालय नै कब्जा गर्न थालेपछि झापाको नेकपा भित्रको राजनीति थप तरङ्गित बनेको छ ।
ओली समूहको पकड रहेको भनिदै आएको झापामा ओली र दाहाल – नेपाल समूहले आ– आफ्नो समूहलाई बलियो देखाउन अहिले भित्री रुपमा कार्यकर्ता भेला तथा छलफललाई तीव्रता दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालय के गर्ने भन्ने विषयमा छलफल समेत नगरेका जिल्ला नेताले पार्टी आफ्नो कब्जामा लिने रणनीतिमा छन् ।
तर, कुन बेला कुन समूहले पार्टी कार्यालय कब्जा गर्ने हो भन्ने त्रासकै कारण पार्टी कार्यालयमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।
नेकपा झापाका सचिव विजय साम्पाङ राईले पार्टी कार्यालयमा सुरक्षा सर्तकता अपनाइएको बताउनुभयो ।
नेकपा भित्र चुलिएको अन्तरसंर्घष निस्कर्षमा नपुगुन्जेल पार्टी कार्यालयलाई बन्द गर्ने दिशामा नेकपा झापा पुगेको छ ।
प्रतिनिधि सभा विघटनपछि प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओली विरुद्ध उनकै गृह जिल्ला झापाको बिर्तामोडमा बिरोध जुलुस प्रर्दशन गरेपछि पार्टी कार्यालयमासमेत कब्जामा लिने स्थिति बनेपछि थप सुरक्षा सर्तकता अपनाइएको हो ।
तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादी बीच केन्द्रमा पार्टी एकता भएपनि झापामा पार्टी एकता नटुङ्गिएका कारण एकीकृत ढंगले पार्टी सञ्चालन गर्न नसकिएको अवस्थामा प्रधानमन्त्री ओलीको पछिल्लो कदमले थप समस्या निम्त्याएको बताउनुहुन्छ नेकपाका अर्का नेता शिब ढुंगेल ।
प्रधानमन्त्री ओलीले झापामा लामो समयसम्म गुटगत राजनीति गरेको र उनको प्रभाव बढी नै हुने गरेको कार्यकर्ताको बुझाइ छ ।
झापाका १५ स्थानीय तह मध्ये प्रमुख र उपप्रमुख गरी १९ वटा पद नेकपाले नेतृत्व गरिरहेको छ ।
पार्टी एकीकृत हुँदा ३२ हजार पार्टी सदस्यता रहेको नेकपा भित्र २४ हजार पूर्व नेकपा एमाले र ८ हजार पूर्व एकीकृत नेकपा माओवादीका सदस्य रहेका छन् ।
केन्द्रपछि प्रदेश १ मा समेत नेकपा भित्रै फुटको अवस्था सृजना हुँदै मुख्यमन्त्री शेरधन राई विरुद्ध अविस्वासको प्रस्ताव दर्ता हुनुले पनि प्रधानमन्त्री ओलीकै गृह जिल्ला झापाको राजनीति थप तरंगित भएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्