
सन्तोस पुर्कुटी (इमेज)
ताप्लेजुङ, पुस १४ । चरन अभाव, जंगली जनावरको आक्रमण तथा जनशक्तिको अभाव हुँदा ताप्लेजुङमा भेडा पालन घट्दै गएको छ ।
भेडापालनलाई नै मुख्य आम्दानिको स्रोत बनाउँदै आएका जिल्लाका किसानहरु अन्य पेशामा पलायन हुन थालेपछि भेडा पालन लोप हुने अवस्थामा पुगेको हो ।
एक दशक अघिसम्म उच्च पहाडी क्षेत्रमा भेडाका बथान बाक्लै देखिन्थ्यो ।
भेडा पालकहरु भेडाको लाम लगाएर घुमन्ते शैलीमा गोठ सार्दे कहिले उच्च पहाडी क्षेत्रमा त कहिले बेसी भेगमा ओहोर दोहोर गर्दथे ।
बहु उपयोगी र आमदानीको निक्कै राम्रो श्रोतका रुपमा भेडालाई लिने गरिन्थ्यो ।
तर, आजकल भेडा पाल्नेहरु अन्य पेशामा पलायन हुन थालपछि न्यानो उनदेखि पोषिलो दूध दिएर गुन लगाउने भेडा पालन व्यवसाय संकटमा पर्न थालेको छ ।
भेडीगोठहरु लोप हुने अवस्थामा पुगका छन् ।
वर्षेनी मानिसहरु भेडा पालन छाडेर अन्य पेशामा आवद्ध हुँदै गए पछि भेडी गोठ लोप हुने अवस्थामा पुगेको देखिन्छ ।
खर्कहरु मासिदै गएको र भएका कतिपय ठाउँमा खर्चरी धेरै तिर्नुपर्ने, जंगली जनावरको आक्रमण लगायतले भेडा पालनतर्फ किसान निरुत्साहित छन् ।
सरकारले भेडा पाल्नेहरुका लागि पछिल्लो पटक अनुदानलगायतका केही योजनाहरु पनि ल्याएको छ ।
तर, अनुदान खास व्यवसायीको हातमा नपर्ने तथा केही पाएको राहत पनि प¥याप्त नभएको उनीहरुको गुनासो छ ।
अर्कातिर भेडा पालन निक्कै झन्झटिलो पेशा भएकाले पनि अहिलेको पुस्ता अन्य पेशा र व्यवसायमा पलायन भइरहेका छन् ।
पुख्र्यौली शैलीमा भन्दा आधुनिक तवरले भेडा पालन गर्ने वातावरण बने युवाहरु यसैमा आकर्षित हुने पनि देखिन्छ ।
तर यसका लागि राज्यले विशेष योजनासहित सहज र अनुकुल वातावरण बनाउन जरुरी छ ।
राज्यले आफ्नै भिर पाखामा भेडासँग रमाउने वातावरण बनाए रोजगारीका लागि अर्कैको मुलुकमा जाने क्रम रोकेर युवाहरुलाई स्वदेशमै आम्दानी गर्ने राम्रो माध्यम बन्न सक्छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्