३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


संक्रमणकालीन न्यायका आयोगलाई यसै हप्ता पूर्णता दिन्छुः प्रधानमन्त्री


0
Shares

काठमाडौं, भदौं १ । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग जोडिएका आयोगलाई यस्तै हप्ता पूरा गर्ने बचन दिएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसै हप्ता आयोग गठन भइसक्ने बताएका हुन् ।

द्वन्द्व व्यवस्थापन गरे पनि द्वन्द्वका घाउ चहराइरहेको भन्दै उनले यसलाई समाधान गर्न सरकार लागि परेको बताएका हुन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगले यसै हप्ताभत्रि पूर्णता पाउने बताएका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘द्वन्द्व व्यवस्थापन गरेको यति लामो समय भइसक्दा पनि द्वन्द्वका घाउ चहराउने काम भइरहनु वान्छनीय हुँदैन । त्यसैले यसै हप्ता आयोग गठन भइसक्ने र त्यसले बाँकी रहेका काम पनि समाधान गर्नेमा ढुक्क हुन सकिन्छ ।’

दुवै आयोगका प्रमुख आयुक्त र आयुक्तहरु सिफारिश गर्न समिति बनाइएपनि दलहरुबीच भागबण्डा नमिल्दा समितिले नाम नै सिफारिश गर्न सकेको छैन । समितिले यसै हप्ताभित्र आयुक्तहरुको सिफारिश गर्ने उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय कानुन, मापदण्ड र सर्वोच अदालतले गरेको फैसलाका आधारमा ऐन संशोधन नहुँदासम्म बन्ने आयोगले काम गर्न नसक्ने पीडित समुदाय र मानव अधिकारकर्मीले बताइरहँदा सरकारले आयोगमा पदाधिकारी नियुक्तिका लागि समिति बनाएको थियो ।

समिति बनाएको महिनौं हुँदा पनि दलीय स्वार्थका कारण समितिले नाम तोक्न सकेको छैन । पीडित समुदायले दलीय भागबण्डामा गरिने पदाधिकारी नियुक्तिले समाधान दिन नसक्ने बताउँदै आएका छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले पनि पीडितकै मागका आधारमा आयोग पुनर्गठन र ऐन बन्नुपर्ने बारम्बार आग्रह गर्दै आएका छन् ।