२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कैलाश सन्यास आश्रम संरक्षणको अभावमा


13
Shares

विवेक भण्डारी (इमेज)
नवलपुर, पुस १७ । नवलपुरको गैँडाकोटमा अवस्थित कैलाश सन्यास आश्रममा रहेको ऐतिहासिक सम्पदा ओझेलमा परेको छ ।

सेनकालीन सभ्यता रहेकोे मन्दिरको भग्नावशेष फेला परेको यस स्थानको उचित व्यवस्थापन हुन नसक्दा ओझेलमा परेको देखिन्छ ।

यस क्षेत्रमा सात वर्ष अघि पुरातत्व विभागले उत्खननको कार्य समेत गरेको थियो ।

विभागले आर्थिक वर्ष २०७० देखि २०७२ सम्म गरेको उत्खननका क्रममा यहाँबाट १ हजार ५०० सय भन्दा बढी पुराना ढुङ्गा निकालेको थियो ।

उत्खननका क्रममा ढुङ्गाबाट बनेको शिवलिङ्ग, चक्र आकारको ठूलो ढुङ्गा, देवी देवताको मूर्ति र विभिन्न आकार प्रकारमा कुँदिएका कलात्मक ढुङ्गा भेटिएका छन् ।

सो क्षेत्रमा भेटिएका ढुङ्गामा कलात्मक आकृति झल्किने हस्तकला समेत छ ।

विभागले गरेको उत्खनन्का क्रममा यहाँ चौधौँ वा पन्ध्रौँ शताब्दीमा सेन राजाको शासनकालमा भव्य कलात्मक मन्दिर रहेको हुनसक्ने आधार भेटिएको कैलाश सन्यास आश्रम व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले बताए ।

उत्खननका क्रममा भेटिएको कलात्मक ढुङ्गा सुर्खेतको काँक्रे बिहारमा झैँ उही शैलीका कलात्मक ढुङ्गा भेटिएकाले यो सेनकालीन समयको भएको उनले बताए ।

पुरातत्व विभागले अहिले यस क्षेत्रमा पहिलेकै शैलीमा मन्दिरको पुनः निर्माण गर्नका लागि ७ करोड ६९ लाख रकम विनियोजन गरेको गैँडाकोट–१३ का वडाध्यक्ष पदम पौडेलले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गको बेल्डिहाबाट करिब साढे एक किलोमिटर दक्षिणतर्फ नारायणी नदीकिनारमा अवस्थित यस स्थानको पुनःनिर्माणको कामसमेत शुरु भइसकेको र निकट भविष्यमै व्यापक पर्यटकीय क्षेत्रको रुपमा चिनाउने गरि काम गर्ने बताए ।

संगै नारायणी नदीकिनारमा अवस्थित कैलाश सन्यास आश्रम वरपर करिब तीन हजारको सङ्ख्यामा कलात्मक ढुङ्गा भेटिएका छन् ।

स्थानीयले त्यहाँ पुरानै शैलीको मन्दिर निर्माण गर्न सरकार र पुरातत्व विभागसँग आग्रह गरेपछि विभागले चासो दिएर अहिले मन्दिरमा भेटिएका ढुङगाहरुलाई पुरानै शैलिमा ल्याउने गरि काम सुरु गरिएको छ ।

गैडाकोटमा मात्र होइन मुलुकका अधिकाशं स्थानमा रहेका यस्ता पुरातात्वीक विषय वस्तुहरुलाई राज्यले खोज गरि संरक्षण र यसबाट लाभ लिन सक्नुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्