
काठमाडौं, पुस १७ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्नुहुने भएको छ ।
चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उहाँले पहिलो खेल उहाँको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लाग्नुभएको हो ।
लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उहाँका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो ।
होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाउनुभएको थियो ।
नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो ।
अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उहाँ प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित हुनुभएको व्यवस्थापक शिवाकोटीले जानकारी दिनुभयो । उहाँ बुधबार क्वारेन्टाइन मुक्त हुनुभएको हो ।
उहाँ सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ ।
हालसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ ।
बिगबास खेल्न लामिछाने गत मङ्सिर ३० गते अष्ट्रेलिया जानुभएको हो ।
क्वारेन्टाइन अवधि सकिएपछि उहाँ नियमित अभयासमा जुट्नुभएको व्यवस्थापक शिवाकोटीले बताउनुभयो ।
लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुने बताइएको छ ।
उहाँले तेस्रो पटक बिगबास लिग खेल्न लाग्नुभएको हो ।
लामिछानेले यसअघि दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेल्नुभएको थियो ।
ती दुई याममा उहाँले कूल २० खेल खेल्दै २६ विकेट लिनुभएको थियो ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा लामिछाने कोरोनाबाट सङ्क्रमित भएपछि केही समय आराम गर्दै त्यसबाट मुक्त भएपछि मात्र उहाँ अष्ट्रेलिया उड्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्