
काठमाडौं, पुस २० । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना छोराका हत्यारामाथि कार्वाहीको माग राखेर न्यायका लागि संघर्षरत गंगामाया अधिकारीलाई न्याय प्रदान गरी जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राखी पछिल्लो पटक गंगामाया २०७७ पुस ६ गतेदेखि वीर अस्पतालको ट्रमा सेन्टरमा आमरण अनशनमा हुनुुहन्छ ।
अधिकारीको स्वास्थ्य अवस्था गिर्दो र चिन्ताजनक रहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले तत्काल उहाँको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
आयोगले उक्त घटनाको अनुसन्धान गरी दोषीउपर फौज्दारी अभियोगमा कारबाही चलाउन तथा पीडित परिवारजनलाई क्षतिपूर्ति उपलब्ध गराउन २०६४ चैत्र २३ गते नेपाल सरकारलाई सिफारिश गरेको तथ्यसमेत स्मरण गराएको छ ।
आयोगले लामो समयदेखि किनारा नलागेको कृष्णप्रसाद अधिकारीको हत्या प्रकरण जस्ता सशस्त्र द्वन्दकालीन मानव अधिकार हनन्का घटनाको सम्बन्धमा यथाशक्य छिटो छिनोफानो गर्न पनि भनेको छ ।
आयोगको बागमती प्रदेश कार्यालयले गंगामाया अधिकारीको जीवनरक्षाको लागि आवश्यक व्यवस्था र समन्वय गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको पनि जनाएको छ ।
अधिकारीको न्यायको हक सुनिश्चित गर्दै जीवन रक्षाको लागि तत्काल प्रभावकारी कदम चाल्न र यसअघि सरकारले गरेका प्रतिबद्धताहरू पालना गर्न पनि आयोग नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्