
काठमाडौं, पुस २१ । बाँकेको बैजानाथ गाउँपालिकामा आरन पेशा अंगालेर जीविको पार्जन गर्ने परिवारको संख्या धेरै छ ।
आरन पेशा गर्नेहरुले गाउँकै मानिसहरुको बालिघरे बस्ने र वर्षभर फलामको काम गरेबापत ज्यालाको रुपमा अन्न लिने प्रचलन छ ।
यसरी काम गर्दा जीवन निर्वाह भएपनि अतिरिक्त बचत नहुँदा समस्या हुने गरेको गुनासो आरन पेशा अंगाल्नेहरुको छ ।
बाँकेको बैजानाथ गाउँपालिका ८ का प्रेम बहादुर विकले ३५ बर्ष देखि फलामका औजारहरु बनाएर जीवन यापन गर्दै आउनु भएको छ ।
विकले अहिले करिब १ सय घरधुरीको फलाम पिट्ने काम गर्दै आउनुभएको छ ।
लामो समयदेखि आरन पेशा अपनाउनुभएका विकले जीवन निर्वाह बाहेक जीवनका कुनै परिवर्तन नआएको गुनासो गर्नुभयो ।
वर्षभरी काम गरेबापत अन्नपात ल्याएर परिवार पाल्नु बाहेक अन्य कुनै प्रगति नभएको उहाँको भनाई छ ।
एसएलसी उतिर्ण गर्नुभएका विकले आरन पेशालाई व्यवसायीक बनाउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
बैजानाथ गाँउपालिकाकै बिन्दु सुनारले पनि विगत २७ वर्षदेखी फलाम पिट्ने काम गर्दै आउनुभएको छ ।
उहाँले पनि बालीघरे प्रथा अनुसार नै ज्यालाको रुपमा अन्न लिनुहुन्छ ।
आरन पेशाबाट घरमा .खाने कुराको अभाव नभएको तर दुःख गरे अनुसारको मूल्य नपाएको गुनासो उहाँको छ ।
यस्तै पछिल्लो समय निकुञ्ज स्थापना भएपछि फलाम पोल्ने गोल पाउनै मुस्किल भएकोले आरन पेशा संकटमा पर्न लागेको गुनासो समेत उहाँले गर्नुभयो ।
बाँके जिल्ला भित्र अहिले पनि बालीघरे प्रथामा आरन काम गर्ने दर्जनौ छन ।
बालीघरे प्रथाबाट श्रम अनुसारको मूल्य पाउन नसक्ने भएकाले यो पेशालाई आधुनिकीकरण र व्यवसायीक बनाई नगदमा कारोबार गर्ने व्यवस्था गर्न सके आफुहरुको जीवनमा परिवर्तन आउनसक्ने उनिहरुको आशा छ ।
प्रतिक्रिया दिनुहोस्