१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पाशुपत क्षेत्रका ४७ सम्पदा पुनःनिर्माण


0
Shares

काठमाडौं, पुस २१ । वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाशुपत क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ ।

पाशुपत क्षेत्रका ११ सम्पदाको पुनःनिर्माण चालु रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

विश्वरुपा मन्दिर, गौरीघाटलगायत सात सम्पदा निर्माण प्रक्रियामा छन् ।

पच्चीस सम्पदाको काम शुरु गर्न बाँकी रहेको कोषका निर्देशक भरत मरासिनीले राससलाई जानकारी दिनुभयो ।

भूकम्पले पाशुपत क्षेत्रका ९० सम्पदामा क्षति पुगेको थियो ।

गत हप्ता पाशुपत क्षेत्रको चन्द्रविनायक मन्दिर पुनःनिर्माण सम्पन्न भएको थियो ।

मन्दिर पुनःनिर्माणपछि आज मङ्गलबार पनि चन्द्रविनायकमा भक्तजनको भीड लागेको छ ।

चन्द्रविनायकको दर्शन गरेमा छाला एवं घाउखटिरा निको हुने धार्मिक विश्वास छ ।

पाशुपत क्षेत्रको जयवागेश्वरी पुनःनिर्माणका लागि साँखु र लुुभुबाट माटो ल्याइने भएको छ ।

माटो ल्याइने निश्चित भए पनि मन्दिर पुनःनिर्माणका लागि आवश्यक काठको अभाव छ ।

मन्दिर तल्लो भागमा नयाँ काठ राख्नुपर्ने भए पनि बजारमा पाउन नसक्दा पुनःनिर्माणमा समस्या आएको हो ।

साढे पाँच वर्षअघिको गोरखा भूकम्पले देशभरका ९२० सम्पदामा क्षति पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

तीमध्ये हालसम्म ४६५ अर्थात् ५०.५ प्रतिशत पुनःनिर्माण सम्पन्न भएको छ ।

हाल २७२ सम्पदाका पुनःनिर्माण जारी रहेको जनाइएको छ ।