
डम्मर बुढा मगर (इमेज)
बाग्लुङ, पुस २१ । घरायसी काममा व्यस्त हुने गरेका बाग्लुङको ग्रामीण क्षेत्रका महिलाहरु पछिल्लो समय पर्यटन प्रवद्धर्नमा सक्रिय बन्दै गएका छन् ।
जिल्लामा रहेका २८ वटा होमस्टेमा महिलाको सहभागिता उत्साहजनक रहेको छ ।
घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक सङ्कट भोग्दै आएका यहाँका महिलाहरु होमस्टे सञ्चालनसँगै सक्षम बन्दै गएका छन् ।
घरबासले आर्थिक मात्रै होइन सामाजिक जीवनमा समेत परिवर्तन ल्याएको महिलाहरु बताउँछन् ।
सामाजिक कार्यमा सहभागी नभएका महिलाहरु घरबास सञ्चालकसँगै बोल्न सक्ने, तालिममा सहभागी हुने, पर्यटनको विकासमा लाग्न समेत थालेका छन् ।
घरखर्च चलाउनसमेत श्रीमान् र परिवारका सदस्यको भरमा पर्ने महिलाहरु घरबास सञ्चालनसँगै आर्थिकरूपमा समेत सबल बन्दै गएको उनिहरु बताउँछन् ।
होमस्टेले गर्दा गाउँ घरका छर छिमेकीहरुमा थप भावनात्मक रुपमा एकताबद्ध भएको र धेरैको जीवनशैली समेत फेरिएको होम स्टे सञ्चालक मायाँ घर्तीले बताउनुहुन्छ ।
पर्यटकीय क्षेत्र बेलढुङ्गा स्थित ओखले गाउँमा स्थानीयहरुको सक्रियतामा वि.स. २०७५ सालदेखि होमस्टे संचालनमा आएको छ ।
स्थानीयहरुले ओखले गाउँको १२ वटा घरमा होमस्टे संचालन गरेका छन् ।
हामेस्टे संचालनका लागि स्थानीयहरुले हालसम्म २५ लाखभन्दा बढी खर्च गरि सकेका छन् ।
बेलढुङ्गा सामुदायिक होमस्टे सञ्चालक समितिका सचिव गोपाल श्रीसले स्थापना भएको सालमा गण्डकी प्रदेश सरकारले हामेस्टे पवद्र्धनका लागि १० लाख रुपैयाँ सहयोग गरेको र अन्य स्थानीयहरुको खर्चबाट संचालन गरिएको बताउनुभयो ।
होमस्टेमा आउने पाहुनलाई धम्जा ओखलेमा उत्पादन हुने कोदो, फापरबाट बनाइएका परिकार र लोकल कुखुरा, खसी बोका, आलु, गुन्द्रुक लगायतका स्वादिस्ट परिकार खुवाउने गर्छन् ।
होमस्टे संचालकहरुले पाहुनालाई मनोरञ्जन दिनका लागि मौलिक सालैजो, ठाडो भाका लगायतका विभिन्न संस्कृतिको नाच समेत देखाउने गर्छन् ।
होमस्टे नजिकै म्याग्दी र बागलुङको सिमाना पर्ने पर्यटकीय क्षेत्र बेलढुङ्गा भएको हुँदा यहाँ घुम्न आउने पर्यटकहरु सिधै हामे स्टेमा पुग्ने गर्छन् ।
बेलढुङ्गा समुन्द्री सतहदेखि २६०० मिटरको उचाई पर्छ, यहाँबाट धौलागिरी, माछापुच्छे्र, निलगिरी लगायत अनगिन्ती हिमश्रृङ्खला देख्न सकिन्छ भने म्याग्दी, पर्वत, स्याङ्जा लगायत बागलुङको थुप्रै भू–भागहरु अवलोकन गर्न सकिन्छ ।
बेलढुङ्गासम्म पुग्ने पदमार्ग र मोटरबाटो पुगे पनि त्यहाँ थप संरचना निर्माण गरे आन्तरीक तथा बाह्य पर्यटक बढ्ने देखिन्छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्