
काठमाडौं, पुस २२ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेको छ ।
अनेरास्ववियूले लाल्टिन जुलुश गरी सरकारले प्रतिनिधिसभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो ।
माइतीघर मण्डलाबाट विद्यार्थीहरुले बानेश्वरसम्म दिउँसै लाल्टिन बालेर जुलुश प्रर्दशन गरेका हुन् ।
जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत सहभागी भएका थिए ।
प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले नेपालको संविधानमा प्रतिनिधि सभा विघटनको कुनैपनि धारा नभएको बताउनुभयो ।
प्रधानमन्त्रीलाई गल्तीको प्रायश्चित गर्ने र सच्याउने अवसर अझै भएको भन्दै कानूनसम्मत्, संविधान सम्मत् निर्णय सच्याउन उहाँले माग गर्नुभयो ।
प्रतिनिधिसभा पुर्नस्थापना नभएसम्म अनेरास्ववियूले विरोधका विभिन्न कार्यक्रम जारी रहने उहाँको भनाई छ ।
विद्यार्थीहरुले ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’ भन्ने ब्यानर लिएर प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्