
काठमाडौं, पुस २२ । प्रतिनिधिसभा विघटनविरुद्ध उभिएका दलहरुले अन्तर पार्टी संवादमा जुट्न थालेका छन् ।
विघटन विरुद्ध छुट्टाछुट्टै रुपमा सडक संघर्षका कार्यक्रम अघि सारेका तीन वटा ठूला दलका नेताहरु विघटन विरुद्धका अन्तरपार्टी संवादमा भने जुटेका हुन् ।
राजधानीमा बुधबार भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले देशमा पुरानो व्यवस्थाको पुनःस्थापना हुन नदिने बताउनु भएको छ ।
नेपालले देशमा संकटकाल लगाउने, अनेकखालका षड्यन्त्र र तानाबाना बुनिएको सुनिरहेको भन्दै षड्यन्त्रलाई सफल हुन नदिने चेतावनी दिनुभयो ।
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले संविधानभन्दा माथिबाट समग्र व्यवस्थालाई नै कू गरेको आरोप लगाउनुभयो ।
नेपालको परिवर्तन नरुचाएका भित्रि बाहिरी शक्तिहरुले यहाँको अस्थिरतामा खेल्न चाहिराखेको र त्यसको मतियार बनेर ओलीले विघटनको कदम चालेको उहाँको आरोप थियो ।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र जस्तै बिदा हुने बताउनुभयो ।
सत्तामा आएपछि नियम कानून केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उहाँको भनाइ थियो ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरु सधैभरी अग्रगमनको पक्षमा रहेको भन्दै प्रतिगमनको पक्षमा नजाने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्