२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


प्रधानमन्त्री ओलीले राजीनामा दिए मुलुकमा वर्तमान परिस्थिति उत्पन्न नहुने : गौतम


0
Shares

काठमाडौं, २३ । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष एंव राष्ट्रियसभाका सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको भए मुलुकमा वर्तमान परिस्थिति उत्पन्न नहुने बताउनुभएको छ ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले आफ्नै पार्टीभित्रबाट अविश्वासको प्रस्ताव लगिँदैछ र आफू अल्पमतमा परें भन्ने थाहा पाउने बित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो भन्नुभयो ।

नेता गौतमले पार्टी विभाजन हुनुमा दुवै पक्ष दोषी रहेको भन्दै प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लिनुअघि आफुलाई नसोधिएको गुनासो गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको भन्दै उपाध्यक्ष गौतमले प्रधानमन्त्रीले राजीनामा दिएको भए मेहनत गरर निर्माण गरेको पार्टी विभाजनबाट जोगिन्थ्यो भन्नुभयो ।

उपाध्यक्ष गौतमले ९ महिनाअघिदेखि आलोचना गर्ने समुहको बैठकमा रहेर पनि आफूले प्रधानमन्त्रीबिरुद्ध अविश्वासको प्रस्ताव असफल गराउँदै आएको खुलासा गर्नुभयो ।

पार्टी विभाजनको कुनै औचित्य नरहेको भन्दै उहाँले समाजवादी संस्कृति निर्माण गर्छु भन्ने दुवै समुहका मुख्य नेताहरुबाट नै लाज लाग्ने गरी अभिव्यक्ति आईरहेको बताउनुभयो ।

संसद विघटनको विषय अदालतले स्वीकार गरिसकेकाले अव यो कदमलाई असंवैधानिक भन्नु अदालतको राजनीतिक रुपमा अपमान हुने उहाँको टिप्पणी थियो ।

विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले असंवैधानिक काम गर्ने व्यक्ति प्रधानमन्त्री हुन नसक्ने भन्दै प्रधानमन्त्रीले आफूले संविधान नमान्ने तर अरुले मात्र मान्नुपर्ने सोचाई राखेको भन्दै प्रधानमन्त्री हिटलर हो भनी प्रश्न गर्नुभयो ।

प्रधानमन्त्रीका गलत कामलाई समर्थन गरेकै कारण मुलुक यो अवस्थामा पुगेको भन्दै उहांले मुलुकलाई ओ अबस्थामा पु¥याउन सिङ्गो नेकपा दोषी भएको आरोप लगाउनुभयो ।

नेकपाका सांसद खिमलाल भट्टराईले संसद विघटन बारे बहस हुन स्वाभाविक भएपनि यहि विषयलाई लिएर जनतालाई भ्रमित पार्ने कोशिस भईरहेको भन्दै आपत्ति जनाउनुभयो ।

नेकपाका सांसद गंगाकुमारी बेल्वासेले प्रधानमन्त्रीले संविधानमाथि कु गरेको आरोप लगाउनुभयो ।

यस्तै, जनता समाजवादी पार्टीको सांसद मृगेन्द्रकुमार सिंह यादवले आफ्नो पार्टीको अन्तरकलहले सिंगो मुलुकलाई अध्यारो सुरुङभित्र धकेल्न मिल्छ भन्दै प्रश्न गर्नुभयो ।

यसैबीच नेपाली कांग्रेसका सांसद रायमाझीले प्रतिनिधिसभा विघटनको विरोध गर्दै विघटनबारे संविधानले गरेको व्यवस्था अध्ययनका लागि भन्दै राष्ट्रिय सभाका अध्यक्षमार्फत प्रधानमन्त्रीलाई संविधानको प्रति पठाउनुभएको छ ।

राष्ट्रिय सभाको बैठक शुक्रबार पनि बस्नेछ ।