१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी संसदले गर्‍यो बाइडनको जीत सदर, पेन्स भन्छन्–बुधबारको घटना अमेरिकी इतिहासमा कालोदिन


0
Shares

us election biden win approve by pariament

काठमाडौं, पुस २३ । अमेरिकी संसदको दुबै सदनले राष्ट्रपतिमा विजयी डेमोक्रेट उम्मेदवार जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको जीत सदर गरेको छ ।

पराजित उम्मेदवार बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प प्रोत्साहित उदण्ड भीडले संसद भवनमा गरेको आक्रमणका बाबजुद चलेको संसदको संयुक्त बैठकले बाइडन र ह्यारिसको जीतलाई प्रमाणित गरेको हो ।

अमेरिकी संविधानको व्यवस्थाअनुसार ६ जनवरीका दिन बोलाइएको संसदको दुबै सदनको संयुक्त बैठकमा प्रत्येक राज्यबाट मिलेको जीतलाई औपचारिक रुपमा प्रतिनिधिहरुले सदर गरेका हुन् ।

दुबै सदनले पेनसिलवेनिया र एरिजोनामा मतगणनाको विषयमा दर्ता गराइएको आपत्तिलाई पनि खारेज गरिदिएको छ । इलेक्टोरल मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जोर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा तुहिएको थियो ।

उपराष्ट्रपति एवं सिनेटका अध्यक्ष माइक पेन्स र प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको उपस्थितिमा गरिएको परिणाम सदर सभामा बाइडनको पक्षमा ३०६ र ट्रम्पको पक्षमा २३२ इलेक्टोरल मत परेको पुष्टि गरिएको थियो ।

राष्ट्रपति पदमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्दछ । संसदले प्रमाणीकरण गरेसँगै राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसले जनवरी २१ देखि आफ्नो कार्यभार सम्हाल्नु हुनेछ ।

राष्ट्रपति ट्रम्पका समर्थकले मच्चाउन सक्ने दंगालाई मध्यनजर गर्दै वासिङ्टन डिसी शहरमा जनवरी २१ सम्म संकटकाल पनि लगाइएको छ ।

यो पनि पढ्नुहोस्,

ट्रम्पलाई अपदस्थ गरेर शक्ति हातमा लिन उपराष्ट्रपति पेन्ससमक्ष महान्यायाधिवक्ताको अपील

राष्ट्रपति र उपराष्ट्रपतिका अतिरिक्त डेमोक्रेटहरुले संसदको दुबै सदनमा आफ्नो पकड पनि बनाएका छन् । प्रतिनिधि सभामा पहिल्यै बहुमतमा रहेका डेमोक्रेटहरुले जर्जियामा गरिएको पुनर्निर्वाचनमा त्यहाँको सिनेटको दुबै सीट आफ्नो पक्षमा पार्दै माथिल्लो सदनमा पनि आफ्नो बहुमत बनाएका हुन् ।

सिनेटमा अब डेमोक्रेट र रिपब्लिकनहरुको ५०/५० सीट भएको छ । उपराष्ट्रपति ह्यारिसको निर्णायक मतले दुबै सदनमा डेमोक्र्याटहरुको नियन्त्रण हुने भएको हो ।

यसअघि निर्वाचनमा पराजय ब्यहोरेका ट्रम्पले हार अस्वीकार गर्दै परिणाम उल्ट्याउन गरेका सारा प्रयास विफल भएपछि आफ्ना उग्र हिंस्रक समर्थकलाई वासिंगटन डिसी बोलाएर संसद कब्जा गर्ने प्रयास गर्नुभएको थियो ।

ट्रम्पका हिंस्रक जत्थाले तल्लो सदनमा सभामुख न्यान्सी पेलोसीको च्याम्बरमा पसेर तोडफोड गर्नुका साथै सिनेटमा समेत ताण्डव मच्चाएका थिए ।

त्यसक्रममा चार जना मारिएका छन् भने थुप्रैं घाइते भएका छन् । संसदको सुरक्षामा खटिएका सुरक्षावलले मात्र परिस्थिति नियन्त्रणमा लन नसकेपछि न्यूयोर्क राज्यबाट थप सुरक्षावल खटाउनु परेको थियो ।

ट्रम्पले निम्त्याएको यस ताण्डवको अमेरिकादेखि विश्वभरबाट निन्दा र भर्त्सना गरिएको छ ।