१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


वडाध्यक्षको संरक्षणमा १९ जना चेपाङ बालबालिका


0
Shares

मुग्लिन, पुस २३ । चितवनको इच्छाकामना गाउँपालिका–२ का १९ चेपाङ बालबालिकालाई वडाध्यक्ष पञ्चबहादुर चेपाङले संरक्षण दिनुभएको छ ।

वडाभित्र रहेका बाबुआमा नभएका, बाबुको मृत्युपछि आमा पुनः अर्कैसँग विवाह गरेर गएका, बाबुआमा अपाङ्गता, अशक्त भई पालनपोषण गर्न नसकेका र अपाङ्गता भएका बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गर्न वडाध्यक्ष चेपाङको पहलमा उनीहरुलाई स्थानीय एक विद्यालय भवनमा राखिएको हो ।

यस शैक्षिकसत्र २०७७ देखि खानाबस्न सुविधासहित ती बालबालिकालाई शिक्षा प्रदान गर्न स्थानीय राष्ट्रिय आधारभूत विद्यालय वल्र्याङमा राखिएको वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताउनुभयो ।

हाल विद्यालयका शिक्षक र स्थानीयवासीले ती बालबालिकालाई खान बस्न र कपडाको व्यवस्थापन गर्दै आएको छ ।

ती बालबालिकाका लागि खाद्यान्न अभाव भएको अध्यक्ष चेपाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाबुआमा नभएका, अभिभावक अपाङ्गता, अशक्त भई पालनषोषण गर्न र विद्यालय पठाउन नसकिएका तथा अपाङ्गता भएका बालबालिकालाई खान बस्न सुविधासहित शिक्षा प्रदान गर्न यो अभियान सञ्चालन गरेका हौँ, अहिले मेरो पहलमा स्थानीय तह र विद्यालयका शिक्षकको सहयोगमा बालबालिकालाई राखिएको छ, केही सङ्घसंस्थाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए पनि प्राप्त भएको छैन ।”

वडामा रहेका सबै बालबालिकालाई शिक्षाबाट बञ्चित हुन नदिन आफूले यो अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

अहिले उक्त बालबालिकालाई राख्न वडा कार्यालयले रु. १० लाख बजेट छुट्याई दुईकोठे भवनसमेत निर्माण गरिरहेको वडाध्यक्ष चेपाङले जानकारी दिनुभयो ।

उक्त विद्यालयका प्रधानाध्यापक कमला भण्डारीका अनुसार संरक्षणमा रहेका शिशुदेखि कक्षा ४ सम्म अध्ययन गर्ने बालबालिका छन् ।

उक्त विद्यालयमा ६८ चेपाङ बालबालिका अध्ययन गरिरहेको प्रधानाध्यापक भण्डारीले बताउनुभयो ।

विद्यालयमै राखिएका १९ बाहेक अन्य विद्यार्थी पनि कापी कलमबिनै विद्यालय आउने गर्छन् ।

जाडोमा समेत न्यानो कपडा नहुँदा विद्यार्थीलाई असहज भएको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।

भौगोलिक विकटताका कारण पनि यहाँ सहयोगी दाता पुग्ने गरेका छैनन् ।

यहाँ कक्षा १ देखि ५ सम्मको पढाइ हुन्छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले वडाध्यक्ष पञ्चबहादुर चेपाङको कामको प्रंशसा गर्नुभयो ।

यसलाई व्यवस्थित बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

बालबालिकाको हेरचाहका लागि गाउँपालिकाले कर्मचारीको व्यवस्था गरिदिने उहाँको भनाइ छ ।

गाउँपालिकाभित्र रहेका यस्ता बालबालिकाको संरक्षणका लागि वडा नं ४ कुरिनटारमा पनि गाउँपालिकाले भवन निर्माण गरिरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

“गाउँपालिकाले कार्यविधि बनाएरै बाल संरक्षण केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको छ”, उहाँले भन्नुभयो, “हामीले यस्ता बालबालिकाको संरक्षणका लागि बाल संरक्षण केन्द्रको भवन निर्माण गरिरहेका छौँ, कार्यविधि बनाएर यसको सञ्चालन गर्नेछौँ ।”

गाउँपालिकाभित्र रहेका अभिभावकविहीन अनाथ र अपाङ्गता भएका बालबालिकालाई पालनपोषण र शिक्षा दिने काम गाउँपालिकाले गर्ने उहाँले बताउनुभयो ।

भौगोलिक दृष्टिकोणले विकट रहेको चितवनको एक मात्र गाउँपालिका इच्छाकामना चेपाङ बाहुल्य रहेको पालिका हो ।

गरिबी र भौगोलिक विकटताका कारण यहाँका बालबालिका अझै नियमित विद्यालय जाँदैनन् । रासस