१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रतिनिधिसभा विघटनविरुद्ध ३३० प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन


0
Shares

काठमाडौं, पुस २५ । प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा उत्रिएको नेपाली कांग्रेसले दोस्रो चरणको कार्यक्रम अन्तर्गत शनिबार (आज) देशभरका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन र सभा गर्दैछ ।

देशका विभिन्न ठाउँमा हुने प्रदर्शनलाई केन्द्रीय स्तरका नेताहरु आफूलाई पायक पर्ने ठाउमा सहभागी हुने जनाइएको छ ।

सभापति शेरबहादुर देउवा काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ बूढानीलकण्ठको विरोध कार्यक्रममा सहभागी हुनुहुनेछ भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश ‘ख’ को गोलढुंगामा आयोजना हुने विरोध सभामा सहभागी हुनुहुनेछ ।

कांग्रेसको पुस १९ गते बसेको केन्द्रीय समिति बैठकले प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तह हुँदै स्थानीय तहका सबैभन्दा तल्लो निकाय वडा सम्म विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार कांग्रेसले शनिबार प्रदेश क्षेत्रमा प्रदर्शन गर्न लागेको हो ।

सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण प्रतिनिधिसभा विघटन भएको ठहर गर्दै कांग्रेस सडका उत्रिएको हो ।

प्रधानमन्त्री ओलीको पछिल्लो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने कांग्रेसको ठहर छ ।