१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अदालतले चुनावका पक्षमा निर्णय दिए सबैले भाग लिन्छन्, चुनाव नगराए ओलीलाई देशमा बस्न गाह्रो हुन्छः देउवा


0
Shares

Sherbahadur deuba

काठमाडौं, पुस २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले चुनावका पक्षमा निर्णय दिएमा सबैले निर्वाचनमा भाग लिने दावी गर्नुभएको छ ।

संसद विघटनविरुद्ध पार्टीले काठमाडौंको क्षेत्र नम्बर ५ मा गरेको सभामा देउवाले ‘अदालतले चुनाव गराउने निर्णय गर्‍यो भने सबैले भाग लिन्छन्, प्रचण्डजीहरुले पनि भाग लिन्छन्,’ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैले शंका गरे पनि शुक्रबार मात्र ओलीले धनगढी पुगेर चुनाव गराउँछु भनेको भन्दै देउवाले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने चेतावनी दिनुभयो ।

ओली आफैं चुनाव प्रचारमा गइसकेकाले ढिलो चाँडो चुनाव हुने विश्वास व्यक्त गर्दै पूर्वप्रधानमन्त्री देउवाले चुनाव नगराए ओलीलाई देशमा बस्न नै गाह्रो हुनेसमेत टिप्पणी गर्नुभयो ।

सभामा देउवाले सीधा रुपमा हेर्दा ओलीले गरेको संसद विघटन प्रजातन्त्रविरुद्ध र संविधान विरुद्धको कदम हो भन्दै तर यो मुद्दा अदालतमा विचाराधिन रहेकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने तर्क गर्नुभयो ।

देउवाले भन्नुभयो, ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय कांग्रेसले मान्छ ।’
अदालतले चुनाव गराउने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जान्छ भन्दै सभापति देउवाले भन्नुभयो, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’

पार्टीभित्रै संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदममा देउवाको साथ रहेको आशंका बढेपछि आन्दोलनमा जाने निर्णय कांग्रेसले गरेको थियो । कांग्रेसका अधिकांश नेता भने संसद विघटन असंवैधानिक भएको र वैशाखमा ओलीले निर्वाचन पनि नगराउने बताउँदै आएका छन् ।