
अक्कल कुँवर (इमेज)
काठमाडौं, पुस २६ । प्रतिनिधिसभा विघटन गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो सदन राष्ट्रियसभामा विघटनको औचित्य पुष्टि गर्ने प्रयास गर्नुभएको छ ।
राष्ट्रिय सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारलाई काम गर्न नदिएको र प्रतिनिधिसभा राजनीतिक अस्थिरताको कारक बनेकाले विघटन गरेको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई बाह्य शक्तिको इसारामा मुलुकको राजनीतिक अस्थिर बनाउने केही व्यक्तिको पड्यन्त्र परास्त भएको रुपमा चित्रण गर्नुभयो ।
झण्डै सवा १ घण्टा लामो सम्बोधन गर्नुभएका प्रधानमन्त्री ओलीले अधिकांश समय प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्न खर्चिनुभयो ।
सरकारलाई काम गर्न नदिएको, आफ्नै पार्टीभित्रका केही पदलोलुप व्यक्तिको षड्यन्त्रमा वर्तमान राजनीतिक प्रणालीलाई बेठिक प्रमाणित गर्ने प्रयास भएपछि विघटनको कदम चाल्न बाध्य भएको उहाँको जिकिर थियो ।
आफ्नै पार्टीका एक जना नेताको घरमा सरकारलाई असफल पारेर राजनीतिक अस्थिरता ल्याउन २ सय ८० वटा बैठक बसेको तथ्याङ्क प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले पार्टीबाट आफुबिरुद्ध भएका गतिविधि प्रष्टाउन खोज्नुभयो ।
संसद विघटनप्रति पूर्वप्रधानन्यायाधीश र नागरिक समाजका अगुवाहरुले निकालेको विज्ञप्तिप्रति आक्रामक देखिनु भएका प्रधानमन्त्री ओलीले त्यसलाई अदालतलाई प्रभावित पार्ने र राजनीतिक अस्थिरता ल्याउने प्रयासको रुपमा चित्रण गर्नुभयो ।
विघटित प्रतिनिधिसभा कुनैपनि हालतमा पुनःस्थापना नहुने जिकिर गर्दै उहाँले आवश्यकताको सिद्धान्तअनुसार भएको राजनीतिक प्रश्नलाई अदालतले खारेज गरिदिनुपर्ने बताउनुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले असाधारण, ऐतिहासिक र दु्रत गतिमा काम गरिरहेको भन्दै विकासका फेरिस्तसमेत प्रस्तुत गर्नुभयो । भारतसंग आफुले साँचो अर्थमा सम्बन्ध बढाउन चाहेको भन्दै उहाँले समानताका आधारमा भारतसंगको सम्बन्ध उचाइमा पुर्याउन सफल भएको दावी गर्नुभयो ।
भारतसंग छलफलबाटै मिचिएको नेपाली भू–भाग फिर्ता गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
निर्वाचनमा जाने भन्नेबित्तिकै धेरैको सातो गएको टिप्पणी गर्दै उहाँले सडक आन्दोलन गरिरहेकालाई चुनावी रिङमा उत्रिन आग्रह गर्नुभयो ।
विधटनले अस्थिरता निम्तियो भन्ने धारणाप्रति लक्षित गर्दै ओलीले चाहेर पनि कसैले प्रधानमन्त्री हटाउन नसकेको र चुनाव हुनु अस्थिरता नभई बाह्य इसारामा गोटी बन्ने व्यक्तिले अस्थिरता ल्याउने पड्यन्त्र गरेको दावी गर्नुभयो ।
कार्यकारी प्रधानमन्त्रीको सिरफारिसलाई सेरेमोनियल राष्ट्रपतिले बदर गर्न नमिल्ने भन्दै उहाँले पूर्वाग्रह राखेर राष्ट्रपति संस्थालाई बद्नाम गराउने षड्यन्त्र भइरहेको जिकिर गर्नुभयो ।
भिडियो हेुर्नहोस्
प्रतिक्रिया दिनुहोस्